NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मालपोत प्रमुखलाई ६ महिना कैद

काठमाडौं । डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेकी मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरू महत भ्रष्टाचारमा दोषी ठहर भएकी छिन् । विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो। जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो। फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीसँग उनले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो। जसपछि अख्तियारले गत वर्ष २४ असारमा मुद्दा चलाएको थियो । पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन्। उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो।

यही मुद्दामा सरकारी साक्षी रहे पनि अदालतमा प्रतिकूल बकपत्र गर्ने भावना महतले भने सफाइ पाएकी छिन्।