NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

गाउँपालिकाको अभियान : समुदायमै पुगेर मिर्गौला परीक्षण

तनहुँ । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ ।

सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ ।

म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए। ‘स्वास्थ्य मिगौला, समृद्ध म्याग्दे गाँउपालिका’ नाराका साथ सुरु गरिएको उक्त शिविर यही माघ २३ गतेसम्म चल्नेछ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरिने उनले बताए ।

मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाका नागरिकलाई स्वस्थ बनाउनका लागि निःशुल्करुपमा मिर्गौला परीक्षण गरिएको बताए ।