NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन

नुवाकोट । ककनी गाउँपालिका–८ निवासी एक सय २१ वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाँईले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले दागबत्ती दिए ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।