नेपालले टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउण्ड रोबिनका आधारमा हुने उक्त सिरिजमा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।
यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने तय भएको क्यानले जनाएको छ । फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।
नेपालमा यसै सातादेखि सुरु हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट टोली नेपाल आउँदै छ । आइसिसी टी–२० विश्वकप, २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुईवटा सिरिज खेल्न लागेको हो । नेपालले अहिले क्यानडासँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ ।
क्यानडासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज लगत्तै नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । उक्त सिरिज आगामी फागुन ३ देखि १३ गतेसम्म चल्नेछ ।
लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ । उक्त टोलीको कप्तानमा रोहितकुमार पौडेल तथा अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल तथा वैकल्पिक खेलाडीमा प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया