NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन् ।

छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताएका हुन् ।

उनले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै विज्ञापन गरी माग गर्ने अधिकार दिइएको बताए। उनले भने, “एक हप्ताअघिदेखि मन्त्रीस्तरीय निर्णय गरेर स्थानीय तह र अस्पताललाई नै चिकित्सक माग गर्न विज्ञापन गर्ने अधिकार दिइएको छ ।”

उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए । उनले भने, “कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ ।”

काठमाडौंका डाक्टर काठमाण्डौंमा मात्रै बस्न चाहने र भरतपुरका भरतपुरमै मात्र बस्न चाहने जनाउँदै उनले भने “भरतपुरबाट माडी गइदिनुहोस् भन्दा पनि मान्नुहुन्न ।” उनले चिकित्सकहरु सरकारले पठाएको ठाउँमा जाने, दुर्गम क्षेत्रमा गएर काम गरिदिने भए समस्या नपर्ने बताए ।

कार्यक्रममा रोटरीयन रविन्द्रकुमार पिया, सुरेन्द्र रेग्मी, रामप्रसाद शर्मा र दिनुप बराल तथा उवासङ्घका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घका उपाध्यक्ष मदन घिमिरे, चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, प्राडा आइपि ढकाल, अपाङ्ग जागर अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ लगायतले बोलेका थिए ।  कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीले स्वागत गरेको कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका डा।साश्वत प्रसादले कृत्रिम हातखुट्टाको प्राविधिक पक्षका बारेमा प्रकाश पारेका थिए ।

रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा १४ दिनसम्म उक्त शिविर सञ्चालन हुनेछ ।

शिविरमा देशैभरबाट हातखुट्टा गुमाएका ८० जना हालसम्म सम्पर्कमा आइसकेका छन् । अरु सम्पर्कमा आउने क्रम जारी रहेको जनाइएको छ । उनीहरुलाई शिविरमा नै हातखुट्टा तयार गरेर प्रदान गर्ने कार्यक्रम रहेको छ । दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउन लागिएको हो ।