NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले उपाध्यक्ष बादलले सम्झिए जनयुद्ध, भने–शहीदको उच्च कदर गर्न चाहन्छु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्धका शहीद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

जनयुद्ध दिवसका अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले त्यसक्रममा शहीद, बेपत्ता र घाइते भएकाप्रति सम्मान प्रकट गरेका हुन् ।

‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ जनयुद्ध स्मरण गर्दै बादलले सामाजिक सञ्जालमा लेखेका छन् ।

बादलले २९औं जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा शुभकामना समेत व्यक्त गरेका छन् ।

तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको युद्धमा प्रत्यक्ष सहभागी मात्र नभएर मुख्य भूमिका निर्वाह गर्ने नेता हुन् बादल । कुनै बेला उनी माओवादीमा प्रचण्डपछिको शक्तिशाली नेता मानिन्थे । शान्ति प्रक्रियापछि लामो समय माओवादीमै क्रियाशील बादल सर्वोच्च अदालतले तत्कालीन नेकपाको वैधता खारेज गरिदिएपछि लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेतासँगै एमालेमा गएका थिए । एमालेमा ओत लागे पनि बादल गुमनाम प्रायः छन् । भुटानी शरणार्थी प्रकरणमा छोरा प्रतीक मुछिएपछि त उनी थप रक्षात्मक बनेका छन् ।

बादलले जनयुद्ध दिवस स्मरण गरे पनि एमालेले भने यसलाई स्वीकार गरेको छैन । सशस्त्र संघर्षमार्फत माओवादीले हत्या र हिंसाको श्रृंखला चलाएकाले यसलाई जनयुद्ध मान्न नसकिने एमालेको मत छ ।