NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बाबुरामको दाबी– जनयुद्धले दोस्रो पटक नेपाललाई विश्वमाझ चिनायो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा नेपाल विश्वमाझ दुई पटक चिनिएको र त्यसमा एउटा जनयुद्ध भएको दाबी गरेका छन् ।

जनयुद्ध दिवसका अवसरमा आफ्नो भनाइ राख्दै डा. भट्टराईले पहिलो पटक अठारौं/उन्नाईसौं शताब्दीमा गोरखा राज्य विस्तार गर्दा र दोस्रो पटक बीसौं शताब्दीको अन्त्य र एकाईसौं शताब्दीको सुरुमा जनयुद्ध गर्दा संसारले नै नेपाललाई चिनेको बताए ।

‘नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो । पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा । जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो,’ बाबुरामको जिकिर छ, ‘दोस्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको बेला ।’

तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका बाबुराम अहिले माओवादीमा छैनन् । पार्टी मात्रै होइन, उनले माओवादसमेत त्यागिसकेका छन् । माओवादी र पुराना राजनीतिक दलले देशलाई समृद्धि दिन नसक्ने ठोकुवा गर्दै एक समय उनी नयाँ वैकल्पिक राजनीतिक दल निर्माणमा समेत होमिए । तथापि, बाबुरामले जनयुद्धलाई ऐतिहासिक भन्दै त्यसमा सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा आफूलाई सदैव गौरवानुभूति हुने बताए ।

‘त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैं गर्वको अनुभूति हुन्छ,’ बाबुरामले भनेका छन् ।

जनक्रान्ति राज्य रहेसम्म अन्त्य नहुने उल्लेख गर्दै उनले त्यो भिन्न रूपमा निरन्तर अघि बढ्ने जिकिर गरे । हिजोका क्रान्तिकारीमध्ये कतिपय थाक्ने र सत्तामोहमा फस्ने भएकाले जनताको सेवाका लागि राजनीति गर्ने व्यक्ति निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लाग्ने उनको भनाइ छ ।

‘कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन् । कतिपय सत्ताको चास्नीमा झिँगा डुबेझैं डुब्छन् । तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयत र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्,’ बाबुरामको ठम्याइ छ ।

सत्ताको फोहोरी खेल त्यागेर सुशासित, समुन्नत, समाजवादी नयाँ नेपाल निर्माण लाग्ने प्रण गर्न उनले जनयुद्धकालीन दल तथा तिनका नेतालाई आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘जनयुद्ध दिवसमा नयॉ प्रण गरौं– हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं । सुशासित,समुन्नत,समाजवादी नयॉ नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौं ।’