NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी प्रदेशमा आज वर्षाको सम्भावना

कृषि कर्म तथा हवाई यात्रामा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अहिले देशको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही मौसमी प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा अहिले बदली भइरहेको छ भने बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । गण्डकी प्रदेशको एक दुई स्थानमा भने अहिले हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार दिउँसो मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको योग छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको खतरा छ ।

बुधबार राति तीन प्रदेशमा वर्षा हुने आकलन छ । महाशाखाको नियमित मौसमी बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपातबाट चिसो बढ्ने भएकाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई यातायातमा असर पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ ।