NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यसकारण डुब्दैनन् बैंकहरू

पहिलेभन्दा बैंकको अवस्था सुधारिएको छ–दाहाल, अवस्था खराब भए हामी आफैं भन्छौं : पौडेल

काठमाडौं । केही दिनअघि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एउटा स्ट्याटस लेखे । उनको स्ट्याटसको सार थियो– एनआइसी एसिया बैंक अब छिट्टै नै डुब्दै छ ।’

त्यसयता उनले एनआइसी एसिया बैंकलाई लक्ष्य गरेर लगातार लेखिरहेका छन् । सँगै उनले अरू केही बैंक पनि जोखिममा रहेको र ती कुनै पनि बेला डुब्ने ठोकुवा पनि गरेका छन् । आफ्नो प्रचारलाई सर्वव्यापी पार्न उनी कहिले युट्युबर भेला पारेर प्रवचन दिन्छन् त कहिले सामाजिक सञ्जालमा कुण्ठा पोख्छन् । नेपालका बैंक तथा वित्तीय संस्थाबारे लगातार भ्रमात्मक प्रचार गरेर बचतकर्तालाई निक्षेप झिक्न उक्साइरहे पनि बैंक डुब्ने ठोस आधार तथा प्रमाण भने उनले अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन् ।

प्रसाईंले अगुवाइ गरेको यो अफवाहपूर्ण प्रचारको जगमा सहकारीपछि नेपालका बैंकहरू संकटमा पर्दै गएको भाष्य जबरजस्त स्थापित हुने त्रास बढेको छ । यस्ता बजारु अफवाहपछि बैंकमा रकम जम्मा गरेका आमसर्वसाधारण स्वाभाविक रूपमा रकम डुब्ने हो कि भन्ने त्रासमा छन् । यही हल्लाबाट तरंगित भएर कतिपयले रकमसमेत निकालेका छन् ।

एनआइसी एसिया र अन्य बैंकबारे प्रसाईंलगायतले गरेको प्रचारको एनआइसी एसिया बैंकले मात्र नभएर राष्ट्र बैंकले नै खण्डन गरिसकेको छ । एनआइसी एसिया बैंक डुब्ने हल्लामा कुनै सत्यता नरहेकाले ढुक्कसँग बचत गर्न राष्ट्र बैंकले विज्ञप्तिमार्फत वचतकर्तालाई अनुरोध गरेको छ । ‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (वासलत लगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीति/नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल छ ।’

राष्ट्र बैंकपछि बैंक तथा वित्तीय नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले पनि संयुक्त विज्ञप्ति जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताको रकम पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् । र पनि सतही प्रचार रोकिएको छैन, बरु त्यसले एक किसिमको हलचल ल्याइरहेको छ ।

के बाहिर हल्ला भएजस्तै एनआइसी एसिया बैंक र अन्य नेपाली बैंकहरू सहकारीजस्तै डुब्ने जोखिम छ ?

अहिले बैंकको निष्क्रिय कर्जा ज्यादा भएकाले जोखिममा परेको बताइएको छ । निष्क्रिय कर्जा वृद्धि हुँदा पक्कै पनि बैंकहरूमा समस्या सिर्जना हुन्छन् । तर बैंक समस्यामा पर्नुको कारण यो मात्रै भने होइन । त्यसो त, नेपालका बैंकमा बेला–बेला समस्या नदेखिएका होइनन् । नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन नेपाल बंगलादेश बैंक, एनसिसी बैंक र लुम्बिनी बैंक समस्यामा परेपछि नै नेपाल राष्ट्र बैंकले कुनैलाई मर्ज गर्न र कुनैलाई पुँजी बढाउन लगाएको थियो

बैंक तथा वित्तीय क्षेत्रका विज्ञ तथा सरोकारवाला बैंकहरूमा समस्या भए पनि हल्ला गरिएजस्तो धरातल कमजोर नरहेको बताउँछन् । पूर्व बैंकर भुवन दाहाल बैंकहरूको स्थिति प्रचार गरिएजस्तो नभएर विगतभन्दा सुदृढ भएको जिकिर गर्छन् । बैंकको अवस्था विगतभन्दा धेरै राम्रो भएकाले कुनै हालतमा नडुब्ने तर्क उनको छ ।

‘अहिले बैंकहरूको निष्क्रिय कर्जा चार प्रतिशत हाराहारी छ । उक्त चार प्रतिशतलाई पुग्ने लोन लस प्रोभिजन हरेक बैंकले छुट्याएर राखेको छ । राष्ट्र बैंकले जति जोखिम लिन्छौँ, जोखिमभारित सम्पतिको ११ प्रतिशत पुँजीकोष मेन्टेन गर्नुपर्छ भनेर भनेको छ । अहिले बैंकहरूको पुँजीकोष सबैभन्दा कम हुनेको ११.५ र बढी हुनेको १४/१५ प्रतिशतसम्म छ । बैंकहरूमा कुल जोखिमभारित सम्पत्तिको १५ प्रतिशत बराबरको क्षति भए पनि धान्न सक्ने अवस्था भएकाले बैंक कुनै हालतमा डुब्दैन ।’

निष्क्रिय कर्जामा आएको वृद्धि, समग्र अर्थतन्त्रमा आएको सुस्तताले बैंकहरूलाई समस्यामा पारे पनि पुँजीकोषका कारण निष्क्रिय कर्जा २०–२५ प्रतिशत पुगे पनि बैंकहरूमा समस्या नआउने उनले बताए । बैंकमा समस्या नरहेकाले ढुक्क भएर बचत गर्न पनि उनले बचतकर्तालाई आह्वान गरे ।

‘अहिलेको वित्तीय विवरण हेर्दा बैंकहरूमा निष्क्रिय कर्जा बढेको छ, अर्थतन्त्रमा सुस्तता आएको छ, जसले गर्दा केही समस्या पक्कै देखिएको हो । तर बैंकहरूले जुन पुँजी राख्नुभएको छ उहाँहरूले पुँजीकोष हेर्दा २०/२५ प्रतिशत निष्क्रिय कर्जा बढ्दा पनि डुब्ने स्थिति देखिँदैन । निक्षेपकर्ताको पैसा हराउँदैन ढुक्क हुनुहोस्,’ बैंकको पछिल्लो वित्तीय अवस्थाबारे जानकारी दिँदै उनले भने ।

घरजग्गाको कर्जा लगानीले केही समस्या देखिएको उनको भनाइ छ । उनले भने,‘अहिलेको समस्या कर्जा लिएकाले त्यसको सही सदुपयोग नगरेकाले आएको हो । घरजग्गाको मूल्य बढे पनि त्यसमा करेक्सन हुन आवश्यक रहेको उनले बताए ।

अर्थविद् डा. नरबहादुर थापा नियमनकारी बैंक (केन्दी्रय बैंक) को अधीनमा बसेका बैंकमा कुनै समस्या नभएको र ती बैंकहरूलाई बाहिरको हल्लाले हल्लाउन नसक्ने बताए । ‘जुन बैंक नियमनकारी बैंकको अधीनबाहिर भएर काम गरेको छ, ग्राहकहरूमाथि दुव्र्यहार र कर्मचारीको श्रम शोषण गरेको छ, यस्ता बैंकहरूमा भने यस प्रकारको हल्लाले आक्रमण गर्दा झन् आत्तिने र स्थिति बिग्रन सक्छ,’ थापाले भने ।

केही बैंकमा समस्या सिर्जना हुँदा समग्र बैकिङ क्षेत्रले नै चुनौती सामना गर्नुपर्ने कुरा थापा स्वीकार गर्छन् । विश्वमा आर्थिकमन्दीले विकाराल रूप लिँदा केही चलेका अन्तर्राष्ट्रिय बैंकमा समस्या देखिए पनि नेपालका बैंकहरू तत्कालै ठूलो संकटमा नपर्ने उनले बताए ।

वित्तीय क्षेत्रमा समस्या आउने भएकाले त्यसको पहिचान गरेर नीति बनाउन उनले राष्ट्र बैंकलाई सुझाए ।

निक्षेपकर्ताको वचत सुरक्षित छ, ढुक्कले कारोबार गर्नुहोस् : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विज्ञप्ति नै जारी गरेर बैंकहरूमा कुनै समस्या नभएको र ढुक्कले निक्षेपकर्तालाई बैंकमा कारोबार गर्न आग्रह गरेको छ । बैंकहरूको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेकोले निक्षेपकर्ताको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुस्प्रचारमा विश्वास नगर्नसमेत अनुरोध गरेको छ ।

राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री पनि नेपालका  बैंकहरू डुब्ने अवस्थामा नरहेको बताउँछन् । केन्द्रीय बैंक हुँदासम्म कसैको वचत नडुब्ने विश्वास दिलाउँदै उनले ढुक्क रहन आग्रह गरे ।  उनले बाहिर हल्ला गरेजस्तो बैंकिङ क्षेत्र समस्यामा नरहेको पनि स्पष्ट पारे ।

‘बैंकबाट कर्जा लिएर कर्जा नतिर्दा बैंकको खराब कर्जा बढिरहेको छ अर्कोतिर ऋण मिनाहा गर्दिन्छु भनेर एउटा व्यक्ति बैंकमा समस्या छ भनेर दौडिरहेको छ, त्यसरी समस्या सिर्जना भएको हो,’ उनले भने ।

पूर्व गर्भनर क्षेत्री अनुसार निक्षेपकर्ताले मागेका बेला बैंकहरुले रकम फिर्ता गर्न सकेन भने बैंक टाट पल्टिने अर्थात डुब्ने अवस्थामा पुग्ने बताउछन् । बैंकमा नगद अभाव भएपछि ग्राहकप्रति दायित्व पूरा गर्न सक्दैन र उक्त बैंकलाई डुबेको भनेर घोषणा गरिन्छ । क्षेत्रीले नेपाल राष्ट्र बैंकले नै बैंक टाट पल्टियो भनेर घोषणा नगरेसम्म बैंकमा निक्षेपकर्ताको वचत सुरक्षित रहने बताए । अर्को बैंकहरुमा खराब कर्जा बढ्दै जाँदा बैंक डुब्ने अवस्थामा पुग्ने उनले बताए । तर खराब कर्जाको सवालमा कुनै बैंकको खराब कर्जा धेरै भएपनि बैंकले त्यसको व्यवस्थापन गर्न सकेमा बैंक डुब्ने अवस्थामा नपुग्ने उनको भनाइ थियो ।

उनले भने,‘खराब कर्जा शून्यमा आउनु सबैभन्दा राम्रो हो, कोभिड पछि व्यवसायमा केही समस्या देखिएकोले खराब कर्जा बढेको छ । कुनै बेला कुनै बैंकको खराबकर्जा ५९ प्रतिशतसम्म पुगेको थियो । त्यतिसम्म पुग्दा पनि बैंक डुबेको थिएन । बैंकले सल्लाहकार बोलाएर कर्जा व्यवस्थापन गरेर खराब कर्जा झार्दै लग्यो त्यही बैंक अहिले देशको अब्बल बैंकको रुपमा छन् ।’

बैंक डुब्ने अवस्थामा आउनै नदिन राष्ट्र बैंक रहेकोले निक्षेपकर्ता हल्लाको पछि लाग्न नहुने विचार व्यक्त गर्छन् । अहिले हल्लाको पछि लागेर निक्षेपकर्ताहरु रकम झिक्न गएपनि बैंकमा समस्या नआउने उनको भनाइ छ ।

‘बैंकमा तरलता प्रशस्तै छ, कर्जा प्रवाह हुन सकेको छैन, राष्ट्र बैंकले बजारबाट तरलता तानेको तान्यै छ, यति बेला हल्लाको पछि लागेर देशभरका बैंकमा गएर पैसा झिक्न थालेछन् भने पनि चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले प्रष्ट पारे ।
नेपालका केही बैंकमा कमजोरी भएपनि ती कमजोरीलाई पुरै जिम्मा लिने काम राष्ट्र बैंकले गरिरहेको बताउँदै उनले निरन्तर अनुगमन गर्ने, राष्ट्र बैंकको नियमभन्दा बाहिर जाने बैंकलाईं कारबाही गर्ने काम भइरहेकोले चिन्ता लिनुनपर्ने जनाए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल कोही व्यक्तिले हल्ला गर्दैमा नेपालको बैकिङ सिस्टम कमजोर नहुने बताउँछन् । नेपालको बैंकिङ प्रणाली अन्तर्राष्ट्रिय सिद्धान्त आत्मसात गरेर अघि बढेको, राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही बैंकहरू सञ्चालनमा रहेको तथा ती संस्थामा बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण भइरहेकाले समस्या नदेखिएको उनको भनाइ छ ।

‘बैंकिङ सिस्टम विश्वासमा अड्ने कुरा हो । घरलाई विश्वास नगरेर हामीले बैंकमा पैसा जम्मा गर्छौं । त्यही सिस्टमा हामीले काम गरिरहेको छौं । बैंकिङ सिस्टम स्मुथ छ,’ उनले भने ।

कुनै बैंक संकटमा हुँदा राष्ट्र बैंकले नै घोषणा गर्ने भन्दै उनले त्यसो नहुँदासम्म हल्लाको पछि नलाग्न आग्रह गरे ।

‘बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले नियमन गरिरहको छ । राष्ट्र बैंकले कुनै पनि संस्था समस्याग्रस्त हो नभनेसम्म निक्षेपकर्ताको बचत सुरक्षित छ । यदि कुनै पनि संस्थामा सर्वसाधारणको निक्षेप फिर्तालाई अब समस्या पर्छ भनेर थाहा पाउनेबित्तिकै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम तत्काल समस्याग्रस्त घोषणा गर्छ  । घोषणा गरेपछि सर्वसाधारणलाई त्यही अनुसार सुचना हुन्छ,’ उनले स्पष्ट पारे ।

हल्लाबारे एनआइसीको स्पष्टीकरण

यता, एनआइसी एसिया बैंकले बाहिर आएका समाचारहरूमा आपत्ति जनाउँदै आफ्नो संस्थामा कुनै पनि समस्या नभएको स्पष्ट पारेको छ ।

संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्ण रूपमा कपोकल्पित तथा असत्य रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा अन्य वाणिज्य बैंकहरूमध्येमा पनि उत्कृष्ट रहेको दाबीसमेत बैंकको छ । बैंकले संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, ओभरल फाइनान्सियल इन्टिकेटरमा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलतालगायत हरेक पक्षमा बैंकमा कुनै समस्या नभएको प्रष्ट पारेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण हेर्दा पनि बैंकमा बाहिर आएजस्तो कुनै समस्या देखिदैन ।