NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अनि मनिषाले बनाएकी थिइन् शिशु चोर्ने योजना

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार चोरी भएको शिशु फेला पारेको छ ।

एकछिन हेरिदिन्छु’ भन्ने बहाना बनाई शुक्रबार दिउँसो २६ दिनको शिशु लिएर महिला फरार भएपछि प्रहरीमा मौखिक उजुरी परेको थियो । त्यसलगत्तै क्लोज सर्किट सिसी टिभी क्यामेरा फुटेका आधारमा शिशुको खोजी कार्य थालेको उपत्यका अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले शुक्रबारै साँझ काठमाडौंको काँडाघारीबाट शिशु नियन्त्रणमा लिएको हो । शिशुलाई शुक्रबार नै उनकी आमालाई बुझाइएको छ ।

प्रहरीले शिशु चोरीमा संलग्न मनकुमारी सिंह र उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, उनी बच्चा चोरी गर्ने उद्देश्यका साथ अस्पताल पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बच्चा चोरेर ट्याक्सी चढी फरार भएकी उनी बसोबास रहेको कोठाभन्दा डेढ किलोमिटर वरै झरेको समेत पाइएको छ । यसक्रममा उनलाई लिन उनकी दिदी समेत आएकी थिइन् ।

प्रहरीले प्रसूति गृह अगाडिबाट उनलाई लिएर जाने ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएको छ । ती ट्याक्सी चालकले ती महिला प्रसूति गृह अगाडिबाट काँडाघारीसम्म आफ्नो ट्याक्सीमा गएको बयान प्रहरीसमक्ष दिएका छन् ।

सुत्केरीजस्तै गरी बसेकी थिइन् कोठामा

दैलेख घर भएकी उनी बच्चा लिएर गएपछि कोठा वरपरकाले सोधीखोजी गरेका थिए । त्यसक्रममा उनले बाटामा बच्चा जन्माएको भन्दै ढाँटेकी थिइन् । कोठामा पनि उनी सुत्केरी जस्तै गरी बसेको थिइन् ।

प्रहरीको टोली कोठामा पुगेपछि पनि उनले वरिपरि कोठाका मानिसहरूलाई झैं ‘बाटोमा पाएर ल्याएको आफ्नै बच्चा’ भएको जिकिर गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

‘बाटोमा पाएर ल्याएको हुँ, चोरेको होइन,’ महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले नेपालवाचसँग भने ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, उनले यस्तो दाबी गरे पनि सिसी टिभी फुटेजमा देखिएको हुलिया, लगाएको पहिरन, ब्याग दुरुस्त थिए ।

विवाह भएको ३ वर्षसम्म भएको थिएन बच्चा

शिशु चोर्ने महिलाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । उनीहरूबीच तीन वर्षअघि विवाह भएको थियो । तर अहिलेसम्म बच्चा भएको थिएन ।

प्रहरीले घटनापछि उनका श्रीमानसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट उनीहरूको तीन वर्षअघि विवाह भएको र बच्चा नजन्मिएपछि शिशु चोरी गर्ने सोच बनाएको पाइएको छ ।

बच्चा चोरी गर्न श्रीमानसमेतको मञ्जुरी थियो कि उनी एक्लैले यस्तो निर्णय गरेकी थिइन् भन्ने खुलेको छैन ।

‘बच्चाको प्लान गर्दा पनि नभएपछि महिला शिशु चोरी गर्ने निष्कर्षमा पुगेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले महिलाविरुद्ध कुन कसुरमा मुद्दा चलाउने भन्ने निर्णय लिइसकेको छैन ।