NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

इन्टरनेट सेवा प्रदायकले अझै मानेनन् टिकटक बन्द गर्ने निर्देशन

प्राधिकरणले फेरि दियो कारबाही गर्ने चेतावनी

काठमाडौं । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र भातृत्त्व बिथोलेको जिकिर गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को यस्तो निर्णयलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणको निर्देशनपछि केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायकले टिकटक बन्द गरे पनि केहीले अझै अवज्ञा गरिरहेका छन् ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरेर टिकटक बन्द गर्न निर्देशन जारी गरे पनि केहीले अझैसम्म अटेरी गरेर आफ्नो नेटवर्कबाट टिकटक नहटाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफ्नो निर्देशन पालना गर्न आग्रह गर्दै अवज्ञा जारी राखेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ऐनमा प्राधिकरणले यस्ता सेवा प्रदायकमाथि लाइसेन्स खारेजीसम्मका कारबाही गर्न सक्ने व्यवस्था छ ।

प्राधिकरणले आफ्नो निर्देशन पालना नगर्ने इन्टरनेट तथा मोबाइल सेवा प्रदायकको नाम भनेसार्वजनिक गरेको छैन ।

यसैबीच, प्राधिकरणले अझै पनि टिकटक चलिरहेको भए सम्पर्क गर्न पनि आम नागरिकसमक्ष आग्रह गरेको छ ।

आफ्नो निर्देशन पालना नभएपछि प्राधिकरणले यसअघि त्यस्ता इन्टरनेट र मोबाइल सेवा प्रदायकसँग स्पष्टीकरण नै सोधेको थियो । तथापि, अझै पनि केहीले प्राधिकरणको निर्देशन अवज्ञा गरिरहेका छन् ।