एक गाग्री पानी ल्याउन डेढ घण्टा !
फिक्कल । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ ।
“बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ”, उनले भनिन्, “बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ । लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ ।”
सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताइन् । चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उनले सुनाइन् ।
“चिसोपानीबाट ल्याइएको पानी त विहान एक घण्टा मात्र आउँछ । कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ”, उनले भनिन्, “त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिलेकाहीँ त ट्याङ्करबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ ।” रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताउँछिन् ।
“विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो”, उनले भनिन्, “खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।”
रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएकी छन् । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउँछिन् । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ । बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरुको भनाइ छ ।
त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउँछिन् । “आर्थिक वर्ष २०६७÷६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ”, उनले भनिन्, “अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन ।”
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँछिन् ।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गरिन् । सङ्घीय सरकारको विशेष अनुदानबाट रु दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताइन्।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया