NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आजदेखि राष्ट्रिय बाल नाटक मेला

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला- २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि यही फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो ।

मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए । “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक फाइनलका लागि छनोट गरेका छौँ”, उनले भने, “निर्धारित मितिमा सम्बन्धित विद्यालयबाट मञ्चन गरिने नाटकको स्क्रिप्ट उपलब्ध गराइएको आधारमा अन्तिम प्रदर्शनका लागि छनोट गरिएको हो ।”

मेलामा छनोट भएका कक्षा ८ देखिमाथि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले गर्ने नाटकको समयावधि बढीमा ३० देखि ३५ मिनेटको रहने भएको छ । जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा हुने उक्त मेला निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन नेपाल, सांस्कृतिक संस्थानसँगको सहकार्यमा हुनलागेको हो ।

राष्ट्रिय बाल नाटक मेलामा प्रतियोगिताको विजेता नाटकलाई नगद एक लाख, ट्रफी, प्रमाणपत्र दिइने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि अवसर प्रदान गर्नुका साथै छनोट भएका उत्कृष्ट प्रतियोगीलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने आयोजकले जनाएको छ । साथै कार्यक्रमस्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने र नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।