NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नेपाल आईडलको पाँचौं संस्करण फागुन २५ गतेदेखि, देशभरका १५२ जनाले प्रतिस्पर्धा गर्दे  

काठमाडाैं । एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल पाँचौं संस्करण यही फागुन २५ गतेदेखि प्रसारण हुने भएको छ ।

पाँचौं संस्करणमा देशभर भएका ओपन अडिशनदेखि जज राउण्ड अडिशनका हरक्षणको जीवन्त प्रस्तुति यी श्रृंखलाहरुमा हुनेछन्। जज राउण्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघिका संस्करणमा ९० देखि १२० जनासम्म प्रतिस्पर्धी जज राउण्डमा पुगेका थिए। यसभन्दा अघि नेपाल आईडलका चौथो संस्करणसम्म सफलतापूर्वक सम्पन्न भएकाले पाँचौं संस्करण अझ विशेष हुने एपिवान टेलिभिजनको विश्वास छ ।

एपिवानद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म हो । जसले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडलले नयाँ प्रतिभाहरुलाई विशेष अवसर दिँदै आएको छ।’

नेपाल आईडल सिजन पाँचको निर्णायकमा सुरुका तीन संस्करणसम्मका अनुभवी व्यक्तित्वको पुनरागमन  हुने टेलिभिजनले जनाएको छ ।

पाँचौं संस्करणमा पनि पहिलो, दोश्रो र तेश्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् । प्रस्तोतामा आसिफ साह र रिमा विश्वकर्मा छन् ।

नेपाल आईडलको पाँचौं संस्करणको लागि झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौंमा भव्यताका साथ ओपन अडिशन भएको थियो। यससँगै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेतामा क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाई र भूपेन्द्र थापामगर रहेका छन् ।

नेपाल आईडल पाँचौं संस्करणको मुख्य प्रायोजक भिभो मोबाइल रहेको छ।