NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
बैंकर पक्राउ प्रकरण

‘विषयको गहिरो अध्ययन र जानकारी विना कर्मचारी हिरासतमा लिनु अत्यन्तै दुःखद’

काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले केही दिनदेखि कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यम प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले गम्भीर आपत्ति प्रकट गरेको छ ।

बैकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’बैंकका गतिविधिहरु नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ । बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ ।’

त्यस्तै, व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै रहेको परिसंघले उल्लेख गरेको छ।

तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेको जनाएको छ । ।

यस्ता कार्यले देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेको सन्दर्भमा आफ्नो मातृभूमिप्रति समर्पित हुँदै आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको बैंकिङ क्षेत्रको स्तरोन्नति सहित समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पु¥याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन सम्बन्धित सबैमा हार्दिक आग्रह गरेको छ ।

नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम छन्, यो नेपालका बैंक तथा वित्तीय संस्थाहरु र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरुले नै प्रमाणित गरेका छन् । यसो हुनुमा यस क्षेत्रमा कार्यरत काबिल कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको परिसंघको दाबी छ ।

बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी संभावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत नहुने परिसंघको भनाई छ ।

यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैंको गम्भीर ध्यानाकर्षण गराएको छ ।

तसर्थ, कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।