बीपी राजमार्ग अवरुद्ध, कर्णाली एकतर्फी खुल्यो

काठमाडौं । सडक माथिबाट खसेको लेदोले बीपी राजमार्ग अवरुद्ध भएको छ । आज (सोमबार) साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्के स्थित सडक खण्ड अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्रहरी टोली गएको छ । सडक विभागको जेसीबीद्वारा लेदो पन्छाउने कार्य भइरहेको छ ।
कर्णाली राजमार्ग एकतर्फी खुल्यो
पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जिते नजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो । पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
‘साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन समय लाग्ने गरेको छ’, उनले भने, ‘डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ ।’ सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किएपछि यात्रुले सास्ती पाएका थिए । सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया