NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

दरबारमार्गस्थित क्यासिनोका सञ्चालकविरुद्ध अवैध विदेशी मुद्रा कारोबार अभियोगमा मुद्दा दायर

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा क्रिप्टो तथा विदेशी मुद्राको समेत अवैध कारोबार हुने गरेको खुलेको छ । प्रहरीले क्यासिनोका सञालकसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत १८ माघमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको थियो । बजार व्यवस्थापक ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंहलाई पक्राउ गरेको हो । बयानको क्रममा उनीहरूले सञ्चालककै निर्दशनअनुसार अनलाइन जुवा खेलाउने गरिएको बताएका छन् । सो क्यासिनोका सञ्चालक जनकपुरका विनय बहादुर साह र भारतीय नागरिक तरुण खत्तेरसहित नौ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अनलाइन जुवाको कसुरमा मुलुकी अपराध संहिता तथा क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबारको कसुरमा नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायर भएको हो । पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सो क्यासिनोमा आबद्ध अन्य भारतीय सञ्चालकरू अशोक कुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकविरुद्ध मुद्दा दायर भएको हो । फरार रहेका उनीहरू क्यासिनो प्यालेस सञ्चालन गर्ने कम्पनी एटलान्टिक रिक्रियसन प्रालिका सञ्चालक हुन् ।
पक्राउ परेका बजार प्रबन्धक पावाले सञ्चालकरूकै निर्देशनमा आफुहरुले अनलाइनमार्फत २४ अ‍ैं घन्टा जुवा खेलाउने गरेको बयान दिएका छन् । जबकी लाइभ जुवा खेलाउन मात्र सो क्यासिनोले अनुमति लिएको थियो । नेपालमा अनलाइन जुवा प्रतिबन्ध छ ।

त्यस्तै, उनको मोबाइलबा बाइनान्स एप पनि भेटिएको प्रहरीले जनाएको छ । जसमा ४० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार गरेको उनले स्वीकार गरेका छन् । अन्य मोबाइलमार्फत पनि क्रिप्टोको सो क्यासिनोबाट ठूलो कारोबार भएको हुनसक्ने प्रहरी आशंका छ ।
सो कम्पनीले वैदेशिक मुद्राको कारोबार गर्न समेत नेपाल राष्ट्र बैंकबाट अनुमति नलिएको अनुसन्धानमा खुलेको छ । उसले सन् २०२० मै वैदेशिक मुद्रा कारोबारको इजाजत आफैंले निवेदन दिएर रद्द गराएको थियो । तर, नियमन नहुँदा क्यासिनोमा वैदेशिक मुद्राको अवैध कारोबार भने निरन्तर गर्दै आएको छ । सो क्यासिनोबाट प्रहरीले एक करोड बराबरको वैदशिक मुद्रा समेत बरामद गरेको छ ।

यो क्यासिनोका सञ्चालक विनय शाह क्यासिनो प्राइडका पनि सञ्चालक हुन् । काठमाडौंका अन्य क्यासिनोमा पनि क्रिप्टो र विदेशी मुद्राको अवैध कारोबार भएको हुनसक्ने आशंकामा प्रहरीले निगरानी बढाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष