NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कैलालीमा होलीको चहलपहल सुरु

कैलाली । होली अर्थात् फागुपूर्णिमा आज हिमाली तथा पहाडी जिल्लामा मनाइँदै छ । तराइका जिल्लामा भोलि यो पर्व मनाउने गरे पनि कैलालीमा भने आजैदेखि चहलपहल सुरु भएको छ ।

रङहरुको पर्वका रुपमा लिइने होलीका अवसरमा धनगढी बजारलगायत आसपासका क्षेत्रमा चहलपहल सुरु भएको हो । होली पर्वको अवसर पारेर आज यहाँका विभिन्न समूह, सङ्घसंस्था, राजनीतिक दलका नेता तथा कार्यकर्ताले सामूहिकरुपमा मिलन कार्यक्रम आयोजना गरी होली पर्व मनाइरहेका छन् ।

पुख्र्यौली घर पहाडी जिल्ला भई हाल कैलालीमा बसोबास गर्दै आएका अछामी, बजुरेली, पनेरुलगायत विभिन्न समुदायका मानिस समूहमा मादल, बाजगाजासहित आआफ्नो परम्परागत लोकसंस्कृति झल्कने देउँडा गीतको तालमा गोलबन्द भई होली खेलिरहेका छन् । कतिपय योग शिविरमा पनि होलीको कार्यक्रम गरी मनाइँदैछ ।

होली पर्वमा त्रिनगर भन्सार सिमानाकामा ओहरदोहर गर्नेको भीड बढेको छ । भीड बढेसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरले जाँचलाई कडाइ गरिएको जनाएको छ ।

होलीमा अवाञ्छित क्रियाकलाप गर्न नपाउने 

जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्वलाई एकता, सद्भाव र मित्रताका रुपमा सभ्य र मर्यादित तरिकाले मनाउन सबैमा अनुरोध गरेको छ ।

रङको पर्वका रुपमा मनाइने होलीमा अरुको इच्छाविपरीत अवाञ्छित क्रियाकलाप नगरी सभ्य र मर्यादित तरिकाले मनाउन प्रशासनले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै इच्छाविपरीत क्रियाकलाप नगर्न अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “कानुन विपरीतका गतिविधि कोहीकसैबाट भएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।”

जिल्ला प्रहरी कार्यालयले होलीमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरबाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनगर गरी सुरक्षा व्यवस्थामा समेत कडाइ गरेको जनाएको छ । साथै जिल्ला ट्राफिक प्रहरीले ठाउँठाउँमा प्रहरी परिचालन गरी ट्राफिक जाँचलाई तीव्रता दिएको छ ।