सुत्केरीलाई आमासमूहको उपहार : घ्यू र अण्डा
बलेवा । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराकी रुपा विकले घरपालुवा कुखुराको अण्डा जोहो गरेकी छन्।
दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उनी आबद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ ।
रुपा सुत्केरी हुनेबेला स्वास्थ्य स्वयंसेविका गीता हमालको नेतृत्वमा आमासमूहका प्रतिनिधि घ्यू, अण्डा, तरकारी, गेडागुडी र चामललगायत पोषणयुक्त खाना लिएर भेट्न पुगेका थिए । अहिले उनको समूहका आठ सदस्य गर्भवती छन् । उनीहरुलाई भेट्न जाँदा आफँैले पालेका कुखुराका अण्डा उपहार लैजाने योजना रुपाले बनाएकी छन् । भीमपोखरामा रहेको आमासमूहले समूहमा आबद्ध सदस्य तथा उहाँहरुका घरपरिवारका सदस्य सुत्केरी हुँदा सामूहिकरुपमा भेट्न जाने पद्धति विकास गरेको छ ।
भेट्न जाँदा कोही पनि खाली हात जान पाउँदैन । समूहमा आबद्ध कसैलाई पनि कोसेली ल्याउन बाध्यकारी व्यवस्था भने छैन । आमाहरुले आफैँले गर्भावस्था र सुत्केरी अवस्थामा पोषणको कमी हुन नदिने सन्देश प्रवाह गर्ने र एकअर्कालाई सहयोग गर्नकै लागि आफ्नो घरमा जे छ त्यही कोसेलीका रुपमा लैजाने गरेका छन् ।
आमासमूहको अभ्यासले गर्भवती र सुत्केरीलाई पोषणयुक्त खाना खुवाउन निकै महत्वपूर्ण भूमिका खेलेको स्वयंसेविका हमालले बताइन् । समूहको बैठक प्रत्येक महिनाको एकपटक आमासमूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ । बैठकमा सहभागीले हरेक महिना रु एक सय जम्मा गर्छन् । सदस्यहरुले त्यही पैसा समूहमै लगानी गरेर अप्ठ्यारो परेकालाई काम चलाउँछन् भने ब्याज रकमबाट असहाय तथा विपन्न परिवारका सुत्केरीलाई पोषण पु¥याउनकै लागि सहयोगसमेत गर्छन् ।
बैठक र सुत्केरी भेटघाटमा जाँदा आमा तथा बच्चाको स्वास्थ्य एवं पोषणसम्बन्धी धेरै कुरा थाहा पाएको समूहकी अध्यक्ष चन्द्रकला थापाले बताइन् । “आमासमूहको बैठक नियमित हुन्छ, सुत्केरी भेट्न जाँदा पोषणयुक्त खाना बोकेर जाँदा घरकै उत्पादन बोकेर जान्छौँ”, उनले भनिन् “बैठकमा जाँदा दिदीबहिनीसँग सुखदुःखका कुरा गर्न पाइन्छ ।” उनका अनुसार गर्भावस्था र बच्चा स्याहार्ने बेला थुप्रै समस्या हुने र आफ्नो जस्तै भोगाइ भएका हजार दिने आमाहरूसँग भेटेर ती जिज्ञासा मेटाउन पाइन्छ ।
सो समूहमा २० जना सदस्य छन् । बैठकमा समूहका सदस्यबाहेक अरू पनि आउने गरेका छन् । स्वास्थ्य र पोषणको विषयमा बुझ्न खोज्नेहरू समूहमा आउने गरेको उनले बताइन् । बजारिया खानपानभन्दा गाउँकै उत्पादन आमा र बच्चाको स्वास्थ्यका लागि राम्रो भन्ने सन्देश आमासमूहले गाउँभरि प्रवाह गरेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया