NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आजदेखि एसइई, जापानबाट समेत सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा राखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै चैत १५ देखि २७ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।

यसपालिको परीक्षामा सामुदायिक तथा संस्थागत १० हजार ८०६ विद्यालयका कुल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र १५ यौनिक तथा लैंगिक अल्पसंख्यक छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार, परीक्षाका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा १२७ कायम हुँदा मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक केन्द्र राखिएको छ ।

जापानबाट पनि सहभागी हुँदै

यस वर्षको परीक्षामा स्वदेशबाट मात्र नभई विदेशबाट पनि विद्यार्थी सहभागी हुँदैछन् । जापानस्थित एभरेस्ट इन्टरनेसनल स्कुलका २३ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् ।

एभरेस्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रमअनुसार पठन–पाठन हुने विदेशी विद्यालय हो । यहाँ नेपालीका छोराछोरी अध्ययन गर्ने गरेका छन् ।