NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सुधारिएन मौसम, यी प्रदेशमा तीन दिनसम्मै पानी पर्ने

काठमाडौं । देशका विभिन्न प्रदेशमा आगामी तीन दिन वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै तीन दिन देशका विभिन्न भागमा वर्षा तथा हिमपातको आकलन गरेको हो ।

महाशाखाका अनुसार, बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने दिउँसो हल्का हिमपातको आकलन छ ।

काठमाडौं उपत्यकामा भने बिहीबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

मौसमविदका अनुसार, देशका केही भागमा बिहीबार राति पनि वर्षाको योग छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा रातिको समयमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको हो ।

मौसमविदहरूका अनुसार, नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यही दुई वायुको प्रभावका कारण शनिबारसम्मै विभिन्न भागमा पानी पर्ने देखिएको छ ।

शुक्रबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखासँग आगामी तीन दिनको मात्र मौसम प्रक्षेपण गर्ने प्रविधि रहेकाले त्यसपछिका दिनको अनुमान गर्न नसकिने मौसमविदको भनाइ छ ।