NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

नेकपा एसमा चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।

आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो ।

पार्टीले वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि छनोटको कार्यतालिका निकालेको छ । पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन पनि गरिसकेको छ ।

केन्द्रीय अध्यक्षदेखि केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्था भएकाले सम्बन्धित कमिटीले कार्यक्षेत्रका सदस्यलाई निर्धारित समयमै सदस्यता नवीकरण गरी त्यसको अभिलेख राख्न पार्टीले निर्देशन गरेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि बन्न पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म नेताहरू चुनिएर आउनुपर्ने व्यवस्था विधानले गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढाउने लक्ष्य लिएको पार्टीले प्रदेशस्तरीय, विभागीय, आयोगस्तरीय समूह निर्माण गरी विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेका छन् ।