NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी पाँच प्रदेशमा आज पानी पर्ने

काठमाडौं । देशका पाँच प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा आज हल्का हिमपात हुने आकलन गरिएको छ ।

बिहीबार बिहान आफ्नो नियमित मौसम बुलेटिन सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले कर्णाली, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको आकलन गरेको हो ।

महाशाखाका अनुसार, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानसँगै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा बिहीबार मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा हुने सम्भावना छ । मौसमविदहरूले उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का हिमपातको आकलन गरेका छन् ।

बिहीबार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्छ ।

यतिबेला नेपालमा पश्चिमी र स्थायी वायुको आंशिक प्रभाव रहेको छ । मौसममा परेको यही दुई वायुको प्रभावले वर्षा तथा बदली  भइरहको मौसमविदको भनाइ छ ।

महाशाखाका अनुसार अहिले देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ ।