NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ट्रयाक खुलेको २० वर्षपछि सडक कालोपत्र हुँदै

गलकोट । विसं २०६० मा ट्रयाक खोलिएको बागलुङको गलुवा-भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ ।

जनश्रमदान र चन्दा उठाएर खनेको सडक २० वर्षपछि कालोपत्र हुने भएको हो । पर्यटकीय गाउँका रुपमा रहेको भकुण्डे पुग्ने सडक स्तरोन्नति नहुँदा पर्यटकलाई समेत त्यहाँ पु¥याउन सास्ती हुँदै आएको थियो । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न थालिएको हो ।

गलुवा–काउले–देउराली सडक अन्तर्गतको छ किमि सडकमध्ये पहिलो चरणमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । बागलुङ नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोड लागतको सडक ठेक्का सम्झौता गरेर कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको छ ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँमा पर्दछ । “बीस वर्षअघि स्थानीयले चन्दा उठाएर सडक खनेका हौँ, पहिला तित्याङबाट सडक खनिएको थियो, छोटो सडकका लागि गलुवाबाट भकुण्डेका लागि खोलिएको ट्र्याक २० वर्षपछि कालोपत्र हुन थालेको छ”, स्थानीयवासी नरबहादुर थापाले भने “जनताले श्रमदान र चन्दा दिएर खनेको सडकमा बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटले थोरै भए पनि कालोपत्र गर्न थालिएको छ, हामी स्थानीयवासी अहिले खुसी छाँैं ।”

बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रका लागि पूर्वाधार निर्माण गरिसकेको जानकारी दिए । उनले समयमै काम सक्न बजेट अभाव भएको बताउँदै जतिसक्दो छिट्टै कालोपत्र गर्ने तयारीमा पूर्वाधार निर्माणको काम सकिएको बताए । हाल सडक चौडा बनाउने, नाली निर्माण गर्ने, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको थापाले बताए।

रु १० करोडको लागत अनुमान गरिएको सडक रु सात करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो । सडक कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम अन्तिम चरणमा पुगिसकेको बागलुङ नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए ।

सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि सङ्घ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउदा कालोपत्रमा केही ढिलाइ हुने बताए । विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी रहेपनि बजेट अभावले आगामी आर्थिक वर्षसम्म कालोपत्रको काम सकिएर नगरपालिकालाई उक्त सडक हस्तान्तरण भइसक्ने छ ।

“कामको गति निकै तीव्र थियो, १० महिनामा सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार, सडकको मापदण्ड अनुसार कटिङ, ग्याबिन, मेसिनरी पर्खाल, नाली तथा घुम्ती सडक ढलान भइसकेको छ”, इञ्जिनिएर घर्तीले भने, “बहुवर्षीय ठेक्का भएका कारण आगमी वर्षसम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिएलगत्तै थप तीन किमिका लागि ठेक्का खोल्ने नगरपालिकाको योजना छ ।”

यस्तै नगरपालिकाको ठूलो लगानीमा पञ्चकोट पुग्ने सडक समेत कालोपत्र गर्न ठेक्कामा गएको इञ्जिनियर घर्तीको भनाइ छ । पञ्चकोटबाबा परिक्रमा सडक ६ नम्बर वडा कार्यालयदेखि पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा सडक कालोपत्रका लागि रु १० करोड लागत मूल्याङ्कन गरेर स्वीकृतिका लागि पठाइएको उनको भनाइ छ ।