झापामा बढ्दै मकैको व्यावसायिक खेती

झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार हुन थालेको छ ।
झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताए । उनका अनुसार आर्थिक वर्ष ०७९–८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियो भने दुई लाख २५ हजार ६७५ मेट्रिक टन उत्पादन भएको थियो ।
गत वर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकैखेतीको विस्तार गरेको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ । झापा गाउँपालिकाले मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलबापत ६० प्रतिशत रकम आफैं भुक्तानी गर्दै आएको छ । यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले बताइन् ।
कार्यवाहक अध्यक्ष थपलियाले मकैको पकेट, ब्लक क्षेत्र घोषणा गरेर मकैको व्यावसायिक खेतीमा पालिकाले प्रवर्द्धन गरिरहेको बताइन् । उनले कृषि शाखामार्फत किसानलाई मकैखेतीतर्फ आकर्षित गर्न आवश्यक मल, बीउ, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइका लागि मोटर अनुदानमा प्रदान गरिरहेको जानकारी दिइन् ।
“पालिकाभित्र बाँझो जमिन देखिन छाडेको छ,” उनले भनिन्, “किसान उत्साहित छन् कतै मकै पाक्न थालेको छ कतै हुर्किरहेको देखिन्छ ।”
ज्ञान केन्द्रका सूचना अधिकारी भण्डारीले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा मकैखेतीको विस्तार भएको जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया