NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

तीन प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । मौसमविदहरूले आइतबार तीन प्रदेशमा वर्षा र दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आकलन गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान तीनदिने मौसमी बुलेटिन सार्वजनिक गर्दै कोशी, गण्डकी र कर्णाली प्रदेशमा आइतबार पानी पर्ने अनुमान गरेको हो । महाशाखाका अनुसार, यी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा आज हल्का पानी पर्ने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा भने आइतबार दिउँसो हल्का हिमपात नै हुनसक्ने मौसमविद्को भनाइ छ ।

महाशाखाले आइतबार रातिको मौसमी अवस्थाबारे पनि विश्लेषण गरेको छ । जसअनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने राति मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

मौसमविद्ले  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा  आइतबार राति हल्का हिमपातको सम्भावना औंल्याएका छन् ।

अहिले लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

केही समययता नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।