NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै

तनहुँ । पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ ।

खोप अभियानको क्रममा जिल्लामा रहेका करिब तीन लाख ४१ हजार पशुलाई पूर्ण खोप लगाइने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको हो । पूर्ण खोप अभियानमा करिब तीन लाख ५० हजार पशुमा पूर्ण खोप लगाइने केन्द्रका प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार किसानको गोठमै पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन गरिने र खोप लगाउनको लागि जिल्लामा ९२ जना प्राविधिकलाई तालिम दिएर खटाइएको छ ।

“पशुधनको सुरक्षा गरी उत्पादन वृद्धि गर्न हामीले किसानको गोठमै पुगेर खोप लगाउने कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख डा चौधरीले भने, “यस कार्यक्रमपछि किसान उत्साहित भएर हामीलाई सोधीखोजी गर्ने गरेको पाएका छौँ ।”

प्रदेश सरकारले पूर्ण खोपयुक्त बनाएर सङ्क्रात्मक रोग निर्मूल गर्ने योजनाअनुसार प्रदेशका ८५ वटै पालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको डा चौधरीले बताए । खोप कार्यक्रमअन्तर्गत भैँसीलाई खोरेत र एचएसविक्यु, भेडाबाख्रामा पिपिआर र खोरेत, सुँगुर र बङ्गुरलाई हैजाविरुद्धको खोप दिइने छ ।

साथै गाई, भैँसीमा खोरेत, चरचरे, भ्यागुते र लम्पी स्किनविरुद्वको एक लाख १२ हजार डोज खोप, त्यसैगरी बाख्राको लागि पिपिआर खोप, सुँगुर, बङ्गुरमा खोरेतविरुद्धको खोप लगाउन दुई लाख मात्रा र क्लासिक स्वाइन फिवरका लागि १४ हजार मात्रा तथा कुकुर, बिरालोका लागि १५ हजार मात्रा खोप व्यवस्था गरिएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए । “हामीले खोप सामग्री सम्बन्धित पालिकासम्म पुर्याइसकेका छौँ”, उनले भने, “वैशाखमा सबै पशुमा खोप लगाउने अभियान तीव्र पारेका छौँ ।”

तनहुँको व्यास, भिमाद, शुक्लागण्डकी र भानु नगरपालिका र बन्दीपुर, आँबुखैरेनी, म्याग्दे, देवघाट, घिरिङ र ऋषिङ गाउँपालिकासँग समन्वय गरी खोप अभियानलाई तीव्र पारिएको केन्द्रले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष