NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रा.वा बैंकको सिइओका लागि दरखास्त माग, यस्तो छ योग्यता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरिएको छ । खुला प्रतिस्पर्धाबाट रिक्त सिइओ पद छनोट गर्ने गरी बैंकले शुक्रबार आवेदन माग गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी कार्यविधि, २०८० समेतको व्यवस्थाअनुसार रिक्त सिइओमा आवेदन माग गरिएको बैंकद्वारा जारी सूचनामा जनाइएको छ ।

सिइओ उम्मेदवारको शैक्षिक योग्यतामा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, लेखा, तथ्यांक शास्त्र, गणित, व्यापार, प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, चार्टड, एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्यांक शास्त्र, लेखा शास्त्र, गणित, व्यापार, प्रशासन वा कानून विषयमा स्नातक गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ–संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीको १० वर्षको कार्यानुभव भएका व्यक्तिले पनि सिइओका लागि आवेदन दिएर प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

दरखास्त आजदेखि आगामी २१ दिनसम्म र अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा त्यसको भोलिपल्टसम्म दिन सकिनेछ ।

सिइओमा आवेदन दिने व्यक्तिले दरखास्तसाथ ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएको तीन प्रति व्यावसायिक कार्ययोजनासमेत प्रस्तुत गर्नुपर्नेछ ।

यसअघि किरणकुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिइओ थिए । गत चैत २८ गते आफ्नो कार्यकाल सकिएर श्रेष्ठ बिदा भएपछि बैंकको सिइओ रिक्त छ ।

उम्मेदवारको शैक्षिक योग्यता, कार्यानुभव र पेश गरिएका व्यावासायिक कार्ययोजना मूल्यांकन गरेर सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनाको सर्ट लिस्टिङ गर्ने र तिनको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हेरेर सिइओ चयन गरिनेछ ।