NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सार्वजनिक बिदाको आलोचनापछि गृहमन्त्री– रिजल्ट आउने गरी काम गर्दैछु, केही समय पर्खनुस्

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतका कैयौं निर्णय र प्रचलन सच्याउन नीतिगत निर्णय नै गर्नुपर्ने भएकाले सार्वजनिक बिदालगायतमा देखिएको विकृत्ति अन्त्य गर्न चाहेर पनि समय लागेको प्रष्टीकरण दिएका छन् ।   नीति परिवर्तन नगरी व्यक्ति वा देशलाई हेरेर निर्णय लिनु कूटनीतिक, राजनैतिक र वैधानिक तरिकाले पनि उपयुक्त नभएकाले कतारका राजा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरिएको उपप्रधानमन्त्री लामिछानेको प्रष्टोक्ति छ ।

नेपालको राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा सरकारले दिएको सार्वजनिक बिदालाई लिएर आलोचना चुलिएपछि उपप्रधानमन्त्री लामिछानेले यसलाई परिवर्तन गर्न नसक्नुको अप्ठ्यारोबारे सामाजिक सञ्जालबाट प्रष्टीकरण दिएका हुन् ।

लामिछानेले अनावश्यक विदा, ‘भिआइपी सवारी’का नाममा नागरिकलाई दिइने सास्ती, पहुँचवाला अपराधीलाई दिइने आममाफीको विकृति, सुरक्षाकर्मीलाई कामदार बनाउनेजस्ता प्रवृत्ति अन्त्य गर्न पदबाहल गरेकै दिनदेखि आफू लागिपरेको तर तीन दशक पुरानो प्रचलन भएकाले समय लागेको बताएका छन् । यसमा रिजल्ट आउने गरी काम भइरहेकाले केही समय धैर्य गर्न उनको अनुरोध छ ।

‘विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नीतिगत निर्णय गरी सच्याउनु पर्छ। अनावश्यक बिदा, ‘भिआइपी सवारी’का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आममाफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइँदै आएको अभूतपूर्व सुविधालगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु,’ उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गरिनु कूटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न ।’

हिजो गलत भएका कुरा आज पनि गलत नै हुने उल्लेख गर्दै लामिछानेले विगतका वाचाप्रति कति पनि आशंका नगर्न पनि अनुरोध गरेका छन् । ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ,’ लामिछानेले भनेका छन् ।

लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले प्रश्न गर्न पाउने उल्लेख गर्दै उनले चासोका साथ प्रश्न र खबरदारी गर्नेप्रति आभारसमेत प्रकट गरेका छन् ।

लाखौ नेपाली युवाहरूलाई कतारले रोजगारीको अवसर दिएकोमा प्रशंसा गर्दै उनले त्यहाँका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागतसमेत गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष