NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आइपिओ कसरी भर्ने ?

काठमाडौं । विभिन्न कम्पनीहरूले सर्वसाधारणका लागि प्राथमिक सेयर लिन आवेदन जारी गर्ने गरेका छन् । यसलाई अंग्रेजीमा इनिसियल पब्लिक अफरिङ (आइपिओ) भनिन्छ । पुँजीबजारमा प्रवेशका लागि यसलाई सबैभन्दा सजिलो र सुरक्षित ठानिन्छ ।

थोरै लगानीमा सहभागी हुन सकिने भएकाले पछिल्लो समय कम्पनीले जारी गर्ने आइपिओमा सर्वसाधारणको आकर्षक बढेको छ । तथापि, अझै पनि कतिपय मानिसमा आइपिओ के हो ? कसरी भर्ने ? यसबाट के लाभ हुन्छ ? भन्ने आधारभूत ज्ञान पाइँदैन ।

आउनुहोस् आजको यो श्रृंखलामा हामी तपाईंलाई यसबारे बताउँछौं : 

बैंक खाता

आइपिओका लागि आवेदन दिन सबैभन्दा पहिले तपाईंको बैंक खाता हुनुपर्छ । यस्तो खाता जुनसुकै बैंकमा खोल्न सकिन्छ । यदि तपाईंले पहिल्यै बैंक खाता खोलिसक्नुभएको छ भने त्यसमा केही रकम भने जम्मा गरेको हुनुपर्छ । किनभने, आइपिओका लागि आवश्यक रकम खातामा मौज्दात रहेको हुनुपर्छ ।

डिम्याट खाता

निक्षेप जम्मा गर्नको लागि बैंक खाता चाहिएजस्तै सेयर जम्मा गर्नको लागि डिम्याट खाता चाहिन्छ । यो बैंक खाता खोलेपछि मात्रै खोल्न सकिन्छ । जुन बैंकमा तपाईंको खाता छ, त्यही बैंकमा गएर डिम्याट खाता खोल्न सकिन्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त कुनै पनि ब्रोकर कम्पनीबाट पनि यस्तो खाता खोल्न सकिन्छ । आईपिओमार्फत तपाईंलाई परेको सेयर यही डिम्याट खातामा जम्मा हुन्छ ।

सिआरएन नम्बर 

आइपिओ भर्न सिआरएन नम्बर पनि चाहिन्छ । डिम्याट खाता खोलिसकेपछि खाता भएको बैंक ९डिम्याट खातामा उल्लेख गरिएको बैंक० मा गएर सिआरएन नम्बर लिनुपर्छ । सिआरएन नम्बर तपाईँले भरेका डिम्याट फर्म भरेपछि मात्र प्राप्त हुन्छ । बैंकमा खाता, डिम्याट अकाउन्ट र सिआरएन नम्बर लिइसकेपछि बल्ल तपाईंले आइपिओमा आवेदन दिन सक्नुहुन्छ ।

कसरी दिने आवेदन ? 

सेयरबजारमा पहिलो पटक प्रवेश गर्ने सोच बनाउनु भएको तपाईंलाई यसबारे पनि अन्योल हुनसक्छ । आइपिओ प्रक्रियामा सजिलै सामेल हुन सकिन्छ । कुनै पनि कम्पनीले आईपिओ जारी गरेपछि सजिलै अनलाइनबाट आवेदन दिन सकिन्छ । त्यसका लागि बैंक अथवा ब्रोकर कार्यालय धाउनुपर्दैन ।

मोबाइल, ल्यापटप वा कम्युटरको प्रयोग गरी घरबाटै मेरो सेयर एपबाट आवेदन दिन सकिन्छ । त्यसका लागि मेरो सेयरको फर्म भर्नुपर्छ । फर्म भरिसकेपछि मेरो सेयरको आइडी पासवर्ड तपाईंले फर्म भर्दा उपलब्ध गराउनुभएको इमेलबाट प्राप्त गर्नुहुनेछ । मेरो सेयर नलिई बैंकमा गएर पनि आइपिओ भर्न सकिन्छ ।

मेरो सेयर 

मेरो सेयरको आइडी र पासवर्ड आएपछि मोबाइल अथवा कम्युटरमा लगइन गर्नुहोस् । त्यहाँ ‘माइ आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि त्यहाँ ‘करेन्ट इस्य’, ‘अप्लाई फर इस्य’, ‘एप्लिकेशन रिर्पोट’ र ‘वल्ड एप्लिकेशन रिर्पोट’ देखिन्छ । तीमध्ये ‘अप्लाई फर इस्यु’ मा क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ कुन कम्पनीको आइपिओ खुलेको छ, त्यसको छेउमा रहेको अप्लाइमा क्लिक गर्नुहोस् । त्यसपटिको चरणमा त्यहाँ तपाईँले बैंक छान्नुपर्ने हुन्छ । बैंक छानेपछि खाता नम्बर आफै आउँछ । त्यसपछि अप्लाई कित्तामा गएर कति कित्ताका लागि आवेदन दिने हो क्लिक गर्नुहोस् ।

कित्ता छनोट गरेपछि त्यसका लागि आवश्यक रकम देखिन्छ । त्यसपछि सिआरएन नम्बर राख्नुहोस् । सिआरएन नम्बर राखिसकेपछि टिक लगाएर प्रोसेस्ड गर्नुपर्ने हुन्छ । त्यहाँ चार अंकको पिन राख्नुपर्छ ।

चार अंकको पिन नम्बर थिचेपछि तपाईँले अप्लाई गरेपछि तपाईले दिनुभएको आवेदन स्वीकृत भएको देखाउँछ । आफूले दिएको आवेदन एप्लिकेशन रिर्र्पाटमा गएर पनि हेर्न सकिन्छ ।

सेयरबजारसम्बन्धी थप जानकारी नेपालवाचको नयाँ भिडियो प्रस्तुती ‘कुरा पैसाको’ कार्यक्रममा  हेर्नसक्नुहुनेछ । कार्यक्रममको पुरा अंश तलको लिंकमा गएर हेर्नुहोस् :