NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ब्याजदर घट्दा पनि किन बढेन सेयर बजार ?

काठमाडाैं । नेपाली पुँजीबजारमा लगानीकर्ताको संख्या दिनानुदिन बढ्दो छ । सेयरबजारप्रति सर्वसाधारणको आकर्षण बढेसँगै लगानी गर्नेको संख्या बढ्दै गएको जानकारहरू बताउँछन् ।

सिडिएस एण्ड क्लियरिङका अनुसार हालसम्म ६२ लाख ४२ हजार ६४३ जनाले डिम्याट खाता खोलेका छन् । मेरो सेयरमा ५३ लाख दुई हजार ५९९ वटा खाता खुलेकोमा ३५ लाख ७४ हजार ४२५ वटा कारोबारमा सक्रिय छन् ।

उमेर समूहमा सबैभन्दा धेरै डिम्याट खाता १८ देखि ३० वर्षका युवाहरूको छ । यो उमेर समूहका १९ लाख ४२ हजार २०८ जनाको डिम्याट अकाउन्ट छ । सेयर बजारमा सबैभन्दा कम उपस्थिति ७० वर्ष माथिकाको छ । यो उमेर समूहको डिम्याट खाता मात्रै १ लाख ७९ हजार छ ।
नेपाली पुँजीबजारको प्रवृत्ति हेर्दा अधिकांश लगानीकर्ता प्राथमिक सेयर अर्थात् आइपिओबाट यो बजारमा प्रवेश गर्ने गरेका छन् । कुनै पनि कम्पनीको सेयर खरिद गर्दा त्यसको कारोबार, मुनाफालगायत समग्र आर्थिक अवस्थिति बुझ्नु अपरिहार्य हुन्छ । तर पुँजीबजारमा प्रवेश गर्नेमध्ये कतिपयले सुनेकै भरमा, नबुझी सेयर खरिद गर्ने गरेका छन् ।

नागरिक लगानी कोष, पुँजीबजार व्यवस्थापन महाशाखका प्रमुख नारायणप्रसाद घिमिरे ९० प्रतिशत लगानीकर्ताले विवरणपत्र नहेरी सेयरमा आवेदन दिने गरेको बताउँछन् । विवरणपत्रमा कम्पनीको पृष्ठभूमि, योजना, रणनीति, धितोपत्रको प्रकार, मूल्य, अण्डरराइटर, जोखिम, चुनौतीलगायत विषय समावेश गरिएको हुन्छ । घिमिेरले कम्तीमा ५० प्रतिशत लगानीकर्ताले विवरणपत्र हेरेर लगानी गर्ने हो भने सर्वसाधारण लगानीकर्ता नफस्ने, नझुक्ने बताए ।

‘कतिपय अवस्थामा लगानीकर्ताले स्कीकृत दिइसकेपछि यो कम्पनी राम्रो छ किन हेर्ने भनेर धारणा बनाएको हुन्छ तर कति कम्पनीहरु बजारको आधारमा चलेको हुन्छ, उनले भने, ‘बोर्डले स्वीकृति दिएपनि लगानी गर्नुभन्दा अगाडि विवरणपत्र पढ्नैपर्ने हुन्छ । नियामक निकायले अनुमति दिएको भनेको यो कम्पनीमा लगानी गर भनेर भन्दा पनि त्यो कम्पनीको जोखिमबारे विवरणपत्रमा छ, अध्ययन गरेर निर्णय गर भनेर बुझ्नुपर्छ ।’

त्यसैगरी लामो समयदेखि ओरालो लागिरहेको सेयरबजार उकालो लाग्न सकेको छैन । बैंकहरुले पछिल्लो समयता बैंक ब्याजदरसमेत घटाएको छ । ब्याजदर घटेको आधारमा लगानीकर्ताको उत्सुकता बजारमा नहुँदा बजार बढ्न नसकेको उनले बताए ।

अहिले बजारमा निश्चित लगानीकर्ता नभएको कारण ब्याजदर घटेपनि त्यसको प्रभाव नपरेको घिमिरले बताए । धेरै कर्जा लिने र कारोबार गर्ने समूह सेयरबजारमा अहिले स्थायित्व हुन नसक्दा ब्याजदर घट्दा पनि बजार नसुध्रिएको उनको भनाइ थियो ।

पुँजीबजारमा लगानी गर्नुभन्दा अगाडि विवरणपत्र किन हेर्ने, विवरणपत्र भनेको के हो, बुक बिल्डिङमा विवरणपत्रको महत्वसँग सम्बन्धित विषयमा नागरिक लगानी कोष, पुँजीबजार व्यवस्थापन महाशाखका प्रमुख नारायणप्रसाद घिमिरसँग नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले गरेको छलफलको पूरा अंश तलको भिडियोमा हेर्नुहोस्