NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने

काठमाडौं । विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत खटिएका सुरक्षाकर्मीको तलब रोक्का गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । कानुन बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकार रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई दिएको छ । साथै, यसको विवरण तत्काल पठाउन समेत भनेको छ ।
नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । ‘एकातिर शान्ति सुरक्षा कायम गर्ने तथा सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी कमी हुने अर्कातिर विशिष्ठ पदाधिकारीले व्यक्तिगत कामका लागि राष्ट्रसेवक प्रयोग गर्ने प्रचलनको अन्त्य आवश्यक छ। त्यसैको सुरुआतका लागि यो निर्णय गरिएको हो’ उपप्रधान एवं गृहमन्त्रीले भने । मन्त्री लामिछानेले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि जानकारी दिएका छन् । केही नेता र पूर्व प्रहरीको सेवामा नियमविपरीत सुरक्षाकर्मी खटिएका छन् ।