महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ ।
गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई आज बिहान जनकपुरधामस्थित न्यूरो हस्पिटल तथा रिसर्च सेन्टरले राहत सामग्री प्रदान गरेको छ ।
बुधबार मध्याह्नको आगलागीमा सो बस्तीका एक सय १० घर जलेका थिए । आगोले अन्य ५० घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो । अग्निपीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । पालिकाले चामल र रु पाँच हजार नगद नगरपालिकाले उपलब्ध गराएको छ ।
यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ भने मटिहानी–८ का सुनचाँदी व्यवसायी जयशङ्कर गुप्ता र जलेश्वर–२ का मनुराज चौधरीले राहत सामग्री सहयोग गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति महोेत्तरीले अग्निपीडित परिवारलाई रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैबीच, सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा डिजन भट्टराई र डढेलोविज्ञ सुन्दर शर्मा छन् ।
टोलीले क्षतिको यकिन गरी पीडितलाई राहत तथा पुनःस्थापनाका लागि तीनै तहका सरकारसँग समन्वय गरी गरिनुपर्ने कामबारे सुझाव दिने प्राधिकरणले जनाएको छ । बस्तीका अग्निपीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरीदिन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया