NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बावुको विरासत जोगाउँदै इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे ।

एमाले उम्मेदवार नेम्वाङलाई नेकपा माओवादी केन्द्र र नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएपछि एमालेले उनकै छोरा सुहाङलाई त्यहाँको उम्मेदवार बनाएको थियो । जितसँगै सुहाङ आफ्नो बावुको राजनीतिक विरासत जोगाउन सफल भएका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत पाए ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष