NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मह आयातमा प्रतिबन्ध लगाउन किसानको माग

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भएता पनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।

गैंडाकोट नगरपालिकामा सञ्चालित आधारभूत मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायमा तीन तहकै सरकारले दिने अनुदान बढाउनुपर्ने माग गरेका छन् । तालिममा सहभागी प्रदीप सापकोटाले घरायसी प्रयोजनका लागि मात्र मौरीपालन गर्दै आएको भन्दै तालिमका कारण मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रेरणा मिलेको बताए ।

पछिल्लो समय तोरी फुल्ने बेलामा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्नाले मौरीपालक किसानलाई समस्या भएको उनले बताए ।

“जिल्लामा मौरीपालनको वातावरण छ”, उनले भने, “मौरीले फूलको रस मात्रै सेवन नगरी बालीमा परागसेचनको कामसमेत गर्ने हुँदा यसबारे चेतना फैलाउन आवश्यक छ ।”

जिल्लामा विभिन्न समयमा फलफूलखेती हुने गरेको र त्यसबाहेकको समयमा जङ्गली फूलबाट मौरीले मह उत्पादन गर्ने उनले बताए । स्थानीय, प्रदेश र सङ्घीय सरकारले मौरीपालक किसानका समस्या समाधान गर्दै मह आयातमा प्रतिबन्ध लगाउनुपर्ने सापकोटाले बताए ।

व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका किसान चन्द्रबहादुर केसीले आफूहरूको समस्या कुनै पनि सरकारले नसुनेको गुनासो गर्दै गैँडाकोट नगरपालिकालाई किसानको समस्या सुन्न र समाधानमा सहयोग गर्न आग्रह गरे ।

“किसानले उत्पादन गरेको मह बजारीकरणमा समस्या छ”, उनले भने, “गुणस्तरहीन मह खुला रूपमा बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ ।”

सरकारको गलत नीतिका कारण आफूहरूले उत्पादन गरेको मह बिक्री नभएको केसीले गुनासो गरे ।

सागर मौरीपालन उद्योगका प्रबन्ध निर्देशक करुणासागर सुवेदीले मौरीपालनका समस्या समाधान गर्न सामाजिक सङ्घसंस्थासँग मिलेर वृक्षरोपण गर्न आवश्यक भएको बताए । साथै उनले गैंडाकोट नगरपालिकाले नगरपालिकाको जम्मा बजेटको शून्य दशमलव ५८ प्रतिशत बजेट मात्र कृषिमा छुट्याउनु दुःखद् भएको बताए । आगामी वर्षको बजेटमा कृषि क्षेत्रको समग्र बजेट बढाउँदै मौरीपालक किसानका समस्या सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले कृषि क्षेत्रमा कम रकम परेकामा आफू जानकार रहेको भन्दै आगामी वर्ष कृषिको बजेट बढाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मौरीपालक किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको उनले जानकारी दिइन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष