NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

चर्चित लोक दोहोरी गायक चिज गुरुङ विवादमा

काठमाडौं । शालीन अनि प्रतिभाशाली लोक दोहोरी गायक चिज गुरुङ विवादमा मुछिएका छन् । हास्यव्यंग्य टेलिश्रृंखला सक्किगोनिका कलाकार सागर लम्साल ‘बले’ले गुरुङले हालै सार्वजनिक गरेको गीतको संगीत आफ्नो बाबु राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाएको गीतबाट कपी गरेको आरोप लगाएपछि उनी विवादमा तानिएका हुन् ।

गुरुङले एक महिनाअघि मात्रै आफ्नो युट्युब च्यानल ‘चिज गुरुङ’बाट हावा सरर… बोलको गीत सार्वजनिक गरेका थिए । कलाकार बलेका अनुसार, यो गीतको संगीत कृष्ण उजाड पौडेलको संकलन तथा संगीत र आफ्ना बाबु राजेन्द्र लम्साल तथा नारायण रायमाझीको स्वर रहेको ‘छोडेर आएँ म …’ बोलको गीतसँग हुबहु मिलेको  छ ।

‘नयाँ संगीतकारमा संगीत सिर्जनाको कमी हो या पुराना गीतहरुको प्रभाव बढी हो, करिब एक महिनाअगाडि रिलिज भएको गायककार चिज गुरुङको आफ्नै युट्युब च्यानलमा राखिएको ‘हावा सरर’ बोलको गीतको संगीत मेरो बुवा राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाउनुभएको तथा कृष्ण उजाड पौडेलले संगीत गर्नुभएको गीत ‘छोडेर आए म’ संग हुबहु मिल्दो देखियो,’ बलेले सामाजिक सञ्जालमा लेखेका छन् ।

गुरुङले गीत सार्वजनिक गरेलगत्तै यसको संगीत आफ्नो बाबुले गाएको गीतसँग मिल्ने जानकारी बलेले गराएका थिए ।  तर गुरुङले यसबारे चित्तबुझ्दो जवाफ नदिएर ‘जे गर्न सक्नुहुन्छ, गर्नुस्’ भनेको बलेको भनाइ छ ।

यो विषयमा लोक तथा दोहोरी प्रतिष्ठानलाई जानकारी गराए पनि त्यसले समेत आवश्यक कदम नचालेर मौनता साँधेको बलेले आरोप लगाए ।

‘वास्तविक सिर्जना गर्ने संगीतकार तथा सम्बन्धित पक्षलाई जानकारी नगराइ बजारमा गीत आयो, आएको पनि महिनौं भयो, नाम भयो दाम भयो तर नेपाली लोक दोहोरीलाई केही हदसम्म नियमन गर्ने, असली सर्जकको हक हितमा बोल्ला भन्ने आशा राखिएको लोक तथा दोहोरी प्रतिष्ठान पनि यो बिषयमा मौन छ। मैले यसको बारेमा प्रतिष्ठानका अग्रजहरुलाई जानकारी गराईरहे तर थाहा छैन प्रतिष्ठानले कहिले सुन्ने हो,’ बलेले सामाजिक सञ्जालमा लेखेका छन् ।

अरूको सिर्जना चोरेर सर्जकमाथि अन्याय गर्ने काम भएकाले सर्जकको पक्षमा आवाज उठाइदिन सरोकारवाला सबैमा उनले अनुरोधसमेत गरेका छन् ।

यो समाचार तयार पार्दासम्म युट्युब ट्रेन्डिङको २०औं नम्बरका रहेको यो गीतको भिडियोले १.६ मिलियन भ्युज बटुलिसकेको छ । गीतको संगीत चोरिएको आरोपपछि गुरुङले सुटुक्क संगीतकारबाट चिज गुरुङको नाम हटाएर म्युजिक कलेक्सन राखे पनि म्युजिक चोरीको आरोपबारे केही बोलेका छैनन् ।

बलेका बाबु राजेन्द्र पुराना पुस्ताका गायक थिए । ज्याग्दी खोलाको किनारै किनार…लगायत चर्चित गीत दिएका उनको केही महिनाअघि मात्रै निधन भएको थियो ।

विवादमा तानिएका गुरुङ समकालीन लोक दोहोरी गायनको चल्तीका कलाकार हुन् । लोक दोहोरी गायन निकै छाडा र अश्लील बन्दै गइरहेका बेला शालीन र मर्यादित ढंगले लोक दोहोरी गाएर फरक छाप छाड्न सफल गुरुङ पहिलो पटक यस्तो विवादमा फसेका हुन् ।