NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

भित्तामा पुग्दासमेत उपेन्द्रलाई सत्ताको लोभ : जसले पार्टी फुटाइदियो उसैको शरणमा !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा विभाजन आएपछि अध्यक्ष उपेन्द्र यादवले सत्ता छाड्ने आँकलन विपरीत उनले सरकारमै रहने छनक दिएका छन् । उनको पार्टी फुटाउन एमाले र माओवादी केन्द्रका नेतृत्वको भूमिका रहेको बताइँदै आएको छ । तर, यादव अहिले आफ्नो पद जोगाउन तिनै नेताको शरणमा परेका छन् ।

यादवले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने बताइसकेका छन् भने उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका उनले कामकारबाही पनि जारी राखेका छन् । सोहीअनुसार उनले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर पटक पटक भेटिसकेका छन् भने एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेको खुलेको छ ।

बालकोट स्रोतले उपेन्द्रले फोनका साथै प्रत्यक्ष भेटमा आफूले कांग्रेससँग कुनै सहकार्य गर्न नखोजेको र यही सरकारको निरन्तरता चाहेको बताइरहेका छन् ।

नेता अशोक राईले ७ सांसदसहित जनता समाजवादी पार्टी बनाएपछि यादव सरकारबाट बाहिरिने अनुमान थियो । तर, पार्टीमा आन्तरिक छलफल गरेर सरकारबाट नबाहिरिने निष्कर्ष सुनाए । बरु प्रधानमन्त्री प्रचण्डले बर्खास्त गर्न सक्ने भयका कारण उनले सम्बन्धित शक्तिकेन्द्रमा दौडधुप बढाएका हुन् ।

सरकारमै रहेका घटक दलले आफ्नोविरुद्ध सुनियोजित षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप उपेन्द्रको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा पनि यादवले उक्त आरोप लगाएका थिए । तर, यति हुँदाहुँदै पनि उनले ओली र प्रचण्डसँग सत्तामै रहिरहन लबिङ पनि गरिरहेका हुन् ।

‘म नभएको मौका छोपेर माधव नेपाल र उपेन्द्र यादव १÷१ वर्ष तथा शेरबहादुर देउवा २ वर्ष प्रधानमन्त्री बन्ने गरी यो सरकारलाई ढाल्न लागिपरेको भनेर सरकारमै रहेका साथीले भ्रम छर्नुभयो । त्यो कपोलकल्पित, आधारविहीन, प्रायोजित ढंगले चलाएको अफवाह थियो’, पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रीजीलाई पनि त्यही भ्रममा पार्नुभएको रहेछ । उहाँसँग भेटेर त्यो भ्रम निवारण गरेको छु ।’

कांग्रेसका नेतासँग चिया पसलमा समेत नभेटेको उनको जिकिर थियो । सत्ता साझेदारले नै पार्टी फुटाएको संकेत गर्दै यादवले भने, ‘शिशाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्नुहुँदैन । त्यही ढुंगा फर्किएर आफ्नो घर पनि चकनाचुर हुन सक्छ ।’

उपेन्द्रको दौडधुपका बुझेका प्रचण्ड र ओलीले सरकारबाट तत्काल हटाउन हतार नगर्ने देखिएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा उपेन्द्रले सरकारलाई आफ्नो समर्थन कायमै रहे पनि प्रधानमन्त्रीले चाल्ने कदमअनुसार प्रतिक्रिया जनाउने बताए ।आफूलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गरे त्यसबाट फेरिने राजनीतिक कोर्सको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने उनको चेतावनी थियो ।

‘सरकारलाई हाम्रो समर्थन कायमै छ । हामीलाई बर्खास्त गरे त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरताको कोर्सको कारक पनि प्रधानमन्त्री नै बन्नुहुन्छ’, यादवले भने, ‘उत्पन्न हुने राजनीतिक अस्थिरताका लागि पनि प्रधानमन्त्री नै जिम्मेवार बन्नुपर्छ ।’

यादव अमेरिका भ्रमणकै बेलामा पार्टी विभाजित बनेको थियो भने उनी स्वदेश फर्किनुअघि नै निर्वाचन आयोगले आधिकारिकता दिएको थियो ।
यसैबीच यादवले व्यक्तिगत महत्वाकाङ्क्षा कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । उनले भने, ‘पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे ।’

अध्यक्ष यादवले अगाडि भने, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिएँ, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र ?’

आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गर्न सहयोग गरेको आरोप लगाए ।

ताजा अपडेट

नेपालवाच विशेष