२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचमा सार्वजनिक यातायातका चालकले लागुऔषध सेवन गरेको भेटिएको हो ।
ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका १ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२१५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका ३ का २६ वर्षीय सुशिल परीयार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका १० का २६ वर्षीय पारस अधिकारी, मधेश प्रदेश ०३–००१ ख ७७४४ नम्बरका ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१–००३ क ८७३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका २ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका ३ का २२ वर्षीय जिवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव ड्रग किट्समा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे÷नगरेको चेक गर्दै आएको छ । नागढुङगामा हिजो २५ वटा सवारी साधनलाई चेक गर्दा ६ वटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्रेष्ठले बताए ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरेको छ ।
प्रतिक्रिया