NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए

वीरगञ्ज । पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् । सखुना प्रसौनी गाउँपालिकाका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समयदेखि प्रहरीको खोजीमा रहेका अभियुक्त भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

२२ असोज २०६५ मा गिरी लगायत व्यक्तिकै संलग्नतामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेका थिए । चन्दाका लागि उनीहरूले यसरी हत्या गरेका थिए ।

त्यस्तै, १२ भदौ २०५७ मा पर्साको विन्दवासिनीका देवेन्द्र प्रसाद यादबको हत्या गरी डकैती गरेको मुद्दामा पनि उनी फरार थिए ।

१९ फागुन २०६६ मा हातहतियार मुद्दामा उनी दोषी ठहर भइ फरार थिए । २०६० मा हातहियतर तथा खरखजनाका अन्य दुई मुद्दामा उनी फरार थिए भने २०५६ सालमा समेत उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर भएको एसपी ढुंगेलले बताए । ठूलो मेहनतपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।