NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २६ गते

सप्तरीमा हुण्डी कारोबारमा प्रहरी नै सक्रिय, १४ कार्टुन पैसा ओसार्दा दुई लाख कमिसन !

पंखा भनेर सप्तरीबाट १४ कार्टुन पैसा छि-यो

काठमाडौं । कानूनको पालना गराउने अर्थात गैरकानूनी कार्य रोक्ने मुख्य जिम्मेवारी पाएको प्रहरी बर्दी लगाएर हुण्डीको प्रवद्र्धन गर्दैछ ।

हुण्डी कारोबार आफैँमा गैरकानूनी हो ।त्यसमा पनि प्रहरीको संलग्नता झनै ठूलो प्रश्न हो । अझ हेर्दा १४ कार्टुन पैसा नेपाल भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले जम्मा २ लाख ५० हजारमात्रै कमिशन लिन्छन् । यो घटनाले राज्यको सुरक्षा निकायभन्दा हुण्डी कारोबारीहरु बलियो देखाएको छ ।

सन्दर्भ हो, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित सीमावर्ती गोविन्दपुर नाकाको । त्यस नाका हुँदै पछिल्लो समय हुण्डी कारोबार बढिरहेको छ ।

पछिल्लो घटना यहि जेठ २१ गतेको हो । भारत हुँदै १४ वटा कार्टुनमा करिब २ करोड रुपैयाँ नेपाल ल्याइदै थियो । त्यो पैसा सुरक्षित रुपमा नेपाल भित्र्याउन सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयोग भयो । अर्थात प्रहरीले नै सुरक्षित रुपमा त्यो पैसा वारी ल्याइदिए । त्यसवापत उनीहरुले २ लाख ५० हजार रुपैयाँ कमिसन पाए । यसरी गैरकानुनी रुपमा रकम ओसारपसार गर्न सहजीकरण गरेवापत सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको स्थानीय युनिटले प्रत्यक्ष रुपमा रकम लिएका हुन् ।

किन ल्याइदै थियो त्यो पैसा ?

नेपाल र भारतवीच ठूलो अंकको आर्थिक कारोबार छ । सीमावर्ती भारतीय बजारमा नेपाली व्यापारीहरुले सामग्री खरिद गर्दा नेपाली रुपैयाँ भुक्तानी गर्छन । यस्तै भारतीयहरुले सिमा क्षेत्रमा सामान खरिद गर्दा वा होटल रेष्टुराँमा भारतीय रुपैयाँ भुक्तानी गर्छन । त्यो पैसा एक देशबाट अर्को देशमा बैकिङ्ग प्रणालीबाट लैजाँदा झन्जट हुने भएपछि उनीहरुले हुण्डी गर्ने गरेका छन् ।

यस्तै नेपाली बजारबाट भारतीय बजारमा अवैधानिक रुपमा निर्यात हुने रक्सी, गाँजा खरिदमा त्यो पैसा लगानी हुने सुरक्षा निकायको प्रतिवेदनमै उल्लेख छ । नेपाल प्रहरीका एक अधिकारीले त्यसरी हुण्डी भएको पैसा अन्य अपराधिक कारोबारका लागि वा नक्कली पनि हुनसक्ने बताए ।

कानूनी कारबाहि के हुन्छ ?

हुण्डी कारोबारको रकम जफतपछि सरकारले फिर्ता गर्दैन । त्यस्तो कारोबारमा संलग्नलाई संलग्नताअनुसारको कारबाहीको व्यवस्था छ । हुण्डी कारोबार गरेको पाइएमा विगो र सोबाट बढे बढाइएको सम्पत्तिसमेत जफत गरी संलग्नलाई एक वर्षसम्म कैदको व्यवस्था छ ।

पंखा भनेर सप्तरीबाट १४ कार्टुन पैसा छि-यो

गोविन्दपुर प्रहरी चौकीका हवल्दार राधेश्यामप्रसाद गुप्ताले छिन्नमस्ता गाउँपालिकास्थित सीमावर्ती गोविन्दपुर नाकाबाट जेठ २१ गते १४ वटा काटुन भित्रिएको बताए । तर त्यो कार्टुनमा पैसा भएकोबारे आफूलाई केही थाहा नभएको उनको भनाई छ । गुप्ताकाअनुसार ५ जनाको समूहले भारततर्फबाट त्यो कार्टुन ल्याएका थिए । प्रहरीले चेकजाँचका लागि रोक्दा उनीहरुले राजविराजको स्कुलको लागि पंखा ल्याएको बताए । प्रहरीले उनीहरुको कुरा पत्यायो र छोडिदियो ।

तर त्यो कार्टुनभित्र पंखा नभएर हुण्डीको २ करोड रुपैयाँ रहेको राज्यकै अर्को निकायले पहिचान गरेको छ । र त्यसबारे संघीय सरकारलाई जानकारी गराइएको छ ।

सोहि प्रहरी चौकीका इन्चार्ज सई बसन्त भट्टराईले भारततर्फबाट आएको सामान पंखा भएको बताए । भट्टराईले उनीहरुसँग कुनै बिल नभएको, कार्टुनमा पंखा भएको बताएपछि भन्सार पठाइएको बताए । तर ती कार्टुन खोलेर नहेरेको स्वीकार गरे । नेपालवाचसँग कुरा गर्दै भट्टराईले भने, ‘उहाँहरुसँग बिल थिएन, के हो भन्दा स्कुललाई पंख्या ल्याएको भन्नुभयो, त्यसपछि सिधै भन्सार पठायौं । उक्त नाकाबाट भन्सार ९ किलोमिटरको दुरीमा छ ।

भट्टराईले पैसा लिएर हुण्डी गराएको आरोपलाई अस्वीकार गरेका छन् । तर सामान नहेरि छोडिनु कमजोरी भएको पनि स्वीकार गरेका छन् ।

को–को थिए संलग्न ?

काटुनमा हालेर हुण्डीको पैसा नेपाल भित्र्याउनेहरु स्थानीय भागवत साह, रोशन यादव, मिथलेश यादव, रजनिश साह, श्रवण साह लगायत रहेका छन् । उनीहरुको समूहले विभिन्न शैलीमा भारतबाट नेपालतर्फ हुण्डी कारोबार गरिरहेको र सुरक्षा निकायलाई समेत प्रभावमा राखेको पाइएको छ । उनीहरुले जेठ २१ गते कार्टुनमा हालेर ल्याएको करिब २ करोड रुपैयाँ जिल्ला सदरमुकाम राजविराजमा ल्याएर राखेका थिए ।

एसपी बज्रचार्य भन्छन् – अब म बुझ्छु

सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक गजु सिद्धि बज्राचार्यले जेठ २१ गते भारततर्फ ल्याएका कार्टुन भन्सार कटाएर पठाएको बताए । नेपाल प्रहरीको स्थानीय चौकीले मिलेमतोमा हुण्डी कारोबार गरेकोबारे सोधिएको प्रश्नमा प्रहरी उपरिक्षक बज्राचार्यले यसबारे थप बुझ्ने बताएका छन् । उनले सप्तरीमा तस्करीका घटना बढिरहेको आरोपलाई अस्वीकार गरेका छन् । तर राज्यकै अर्को सुरक्षा संयन्त्रले सप्तरीमा तस्करीका घटनामा बृद्धि भइरहेको र त्यसमा प्रहरीकै संलग्नता रहेको विवरण दिएको हो ।