महबाट एउटै गाउँमा भित्रियो १ करोड

भोजपुर । जिल्लाको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ ।
व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा १ वर्षमा रु. १ करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् ।
नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए ।
आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा १०० केजीसम्म उत्पादन हुने उनले बताए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उनको भनाइ छ ।
स्थानीय बजारमा मह प्रतिकेजी रु. १ हजार ५०० मा बिक्री हुने उनको भनाइ छ ।
“मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” उनले भने, “मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छौँ ।”
नागी क्षेत्रबाट एक वर्षमा रु. १ करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताए । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ ।
भौगोलिक रुपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पु–याउले लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।
“हाम्रो क्षेत्रमा मौरीपालनबाट रु. १ करोड बढी भित्रिएको अवस्था छ,” वडाध्यक्ष राईले भने, “यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौं । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।”
व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब रु सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।
गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।
“मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “यो वर्ष करिब रु सात लाख ७० हजार बराबरको आनुधिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।”
पराम्परागत रूपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आधुनिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताए । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सजिलो हुन्छ । स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिए ।
“हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ”, उनले भने, “आफ्नै लगानीमा मौरीपालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।”
गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । किसानलाई व्यावसायिक बनाउन उनीहरूको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।
नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताइन् ।
“गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ,” उपाध्यक्ष राईले भने, “यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भईरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।”
प्रतिक्रिया