NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ११ गते

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ : सांसद केसी

काठमाडौ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उहाँले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताए । “गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ ।”

सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि १८ अर्ब मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उनले सुझाव दिए । डोजर आतङ्कका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताए । “अहिलेसम्म सुकुम्बासी आयोग गठन भए पनि समस्या जस्ताको तस्तै छ, कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने, “धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ ।”

सहकारी ठगहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा सांसद केसीले जोड दिए । गरिबी न्यूनीकरणका लागि ठोस कार्यक्रम र नीति आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उल्लेख नभएको भन्दै उनले रोजगार समस्या र गरिबी निवारणमा सरकार गम्भीर हुनुपर्ने बताए । स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको चार दशमलव ६४ प्रतिशतमात्र बजेट विनियोजन भएकामा यो रकम अपुग भएको सांसद केसीको भनाइ थियो ।