NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

जर्मनीका राष्ट्रपतिसँग नेपालका राष्ट्रपतिको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् । सोमबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्वपरिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै उनले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएका थिए ।

“दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।