NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

‘बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समयअनुसार अघि बढ्नुपर्छ’

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समय अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले आरबीसीको कार्यान्वयन आफ्नै लागि हो भन्ने बुझेर सोही अनुसार काम गर्नुपर्ने उल्लेख गर्दै नेपाल बीमक सङ्घले कम्पनीका फरक फरक समस्याहरू सङ्कलन गरेर प्राधिकरणमा प्रस्तुत गरेमा छलफल गरी समाधान निकाल्न सहज हुने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आरबीसी कार्यान्वयन सम्बन्धी प्रस्तुती गर्दै प्राधिकरणले पर्याप्त अध्ययन र गृहकार्य गरेर आरबीसी कार्यान्वयनमा ल्याएको बताए ।

निर्देशक सुवेदीले गत २०८० साल साउन १ गतेदेखि अन्तरिम रूपमा कार्यान्वयनमा आएको आरबीसी आगामी २०८४ साल साउन १ गतेदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने जानकारी दिए ।

आरबीसी कार्यान्वयनमा आएका अन्तरिम वर्षहरू बीमा कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको मितिले १२० दिनभित्र र पूर्णरूपमा कार्यान्वयमा आएपछिका वर्षमा आर्थिक वर्ष समाप्त भएको मितिले ९० दिनभित्र जोखिममा आधारित पूँजी सम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने उल्लेख गर्दै निर्देशक सुवेदीले प्राधिकरणले पनि आरबीसीकै मापदण्डका आधारमा कम्पनीहरूको मूल्याङ्कन गर्दै जाने स्पष्ट गरे ।

नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्रीले आरबीसी कार्यान्वयनका क्रममा भूकम्प तथा बाढी पहिरो जस्ता जोखिमका बीमाशुल्कका बारेमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउदै आरबीसी कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, वित्त विभाग प्रमुख र जोखिम व्यवस्थापन विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।