सिस्नु समातेर भीरको बाटो हिँडिरहे पनि रास्वपाले गन्तव्य भुलेको छैन : रवि लामिछाने
शुभेच्छुकलाई ढाडस– बाँकी काम गरेरै छाड्छौं, चिन्ता नलिनुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले पार्टीले अप्ठ्यारो परिस्थितिको सामना गरिरहे पनि गन्तव्य नभुलेको बताएका छन् । रास्वपा स्थापनाको २ वर्षको अवसरमा शुक्रबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै लामिछानेले आफ्नो पार्टीप्रति भरोसा गर्न आमनागरिकहरूलाई अपिल गरे ।
‘रास्वपा जन्मिएको २ वर्ष भयो । हामी हाम्रो उद्देश्यमा अडिग छौं । गन्तव्यमा स्पष्ट छौं । कुरा बाटोको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं ।’
कठिनाइहरू नचिरी पार्टी निर्माण हुन नसक्ने उल्लेख गर्दै उनले वैचारिक स्पष्टता र राजनीतिक परिपक्वता हासिल गरेर आफ्नो यात्रा सम्पन्न गरिछाड्ने प्रतिबद्धता जनाए ।
पूर्वप्रतिबद्धताअनुसार काम नगर्दा र नेतृत्वमाथि विभिन्न अभियोग लाग्दा रास्वपा खस्किएको विश्लेषण पछिल्लो समय भइरहेका छन् । तर लामिछानेले यो सत्य नभएको बताए । उनले यस्ता कुरालाई परवाह नगरी रास्वपा आफ्नो यात्रामा अविचलित अघि बढिरहेको बताए ।
‘२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कदो छ’ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शोमा बोल्न घाँटी र टार्इ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ।’
आफ्ना पार्टीको २१ सांसद र ४ मन्त्रीले सिंगो देशको ध्यान तान्न सफल भएको जिकिर गर्दै उनले मन्त्री र सांसदले खेलेको भूमिकाप्रति प्रशन्नता प्रकट गरे ।
‘सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई ‘घण्टी’मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सिंहदरबार पसिसकेको रास्वपाले बाँकी काम गर्ने प्रतिबद्धता जनाउँदै उनले शुभेच्छुकहरूलाई शंका र चिन्ता नलिन पनि अनुरोध गरेका छन् । ‘साथीहरू घण्टी सिंहदरबार पस्यो । यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिह्न बस्यो । बाँकी काम हामी गर्छौं । तपाईंहरू चिन्ता नलिनुहोस् । पीर नगर्नुहोस्,’ शुभेच्छुकलाई लामिछानेको ढाडस छ ।
प्रतिक्रिया