NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

देशका विभिन्न स्थानमा बाढी र पहिरो, २ को मृत्यु, ४ जना बेपत्ता, ३ घर बगायो

पृथ्वी राजमार्ग भासिँदा आवागमन प्रभावित

काठमाडौं । गएराति परेको अविरल वर्षाले बाढी र पहिरो निम्त्याउँदा देशभर अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । ३ घर बगाएको छ ।

कास्कीको मादी गाउँपालिकामा पहिरोमा परेर ३ बालिकाको मृत्यु भएको छ भने १ जना घाइते छन् । मृत्यु हुनेमा १३ वर्षीया आयुष्मा रानाभाट र पोखराकी ३ वर्षीय अनमोल सुनार छन् । हजुरआमासँगै सुतेकी आयुष्माको घरमाथिबाट खसेको पहिरोमा परेर मृत्यु भएको हो । हजुरआमालाई भने उद्धार गरेर अस्पताल लगिएको छ ।

त्यस्तै, पोखरा–२७, आरुपाटाका ३१ वर्षीय हरि सुनारको घर पुरिँदा उनका ३ वर्षीय छोरा अनमोलको मृत्यु हुनुका साथै उनकी श्रीमती घाइते भएको प्रहरीले जनाएको छ ।

उता, लमजुङमा पहिराले तीन घर बगाउँदा चार जना बेपत्ता भएका छन् । क्वहोलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, लमजुङले बुधबार बिहान घटनाको जानकारी आएलगत्तै घटनास्थलतर्फ सुरक्षाकर्मी पठाइएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

पृथ्वी राजमार्ग भासिँदा आवागमन प्रभावित

वर्षाले पृथ्वी राजमार्ग भासिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ स्थित चाउथेको सडक खण्ड बुधबार बिहान भासिएको हो ।

सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । जिल्ला प्रहरी कास्कीले अहिले सवारी आवागमन एकतर्फी भइरहेको र त्यसलाई हटाएर दुईतर्फी बनाउने प्रयास भइरहेको जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष