NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

चिनियाँ समूहले ३२ सय केजी सुन तस्करी गरेको सिआइबीको निष्कर्ष

काठमाडौं । चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि तीन हजार एक सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । गत वर्ष बरामद भएको ६०) केजी सुनमाथि दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा ठूलो मात्रामा सुन तस्करी भएको प्रमाण भेटिएको हो ।

पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ । थप २२ जना फरार छन् । अनुसन्धान पूरा गरी सिआइबीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

दोस्रो चरणमा २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूमध्ये १२ जना सुन ओसारपसारमा संलग्न तथा आठजना तस्करीको पैसा हुन्डीमार्फत अवैध कारोबारमा संलग्न छन् । जसमा भारतीय र चिनियाँसमेत छन् । तस्करीको सुन कारोबारमा संलग्न सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, राजु खत्री, प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् । त्यस्तै, चिनियाँहरू जेन्जा झाझी र सेराप भन्ने सोनाम गुरुङ पनि समातिएका छन् ।

त्यस्तै, सुन तस्करीको पैसा हुन्डीमार्फत विदेश पठाउन सहयोग गर्ने डिजिटल पेमेन्ट वालेट कम्पनी पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा तथा सजिलो पेका सञ्चालक सुशील जाकिबन्जा, सिइओ काश्यप मानन्धर, एजेन्टहरू लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पक्राउ पक्राउ परेका छन् ।

फरारमा नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द समेत छन् । उनी सञ्चालक रहेको पेवेल नेपाल कम्पनीले सुन तस्करीको अवैध भुक्तानी गरेको अनुसन्धानमा पुष्टि भएको छ।

ती दुई डिजिटल वालेट कम्पनीले एक खर्बभन्दा धेरैको कारोबार गरेको र त्यसमध्ये ९० प्रतिशत रकम सुनको अवैध कारोबारको देखिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । दुवै कम्पनीको खाता राष्ट्र बैंकले रोक्का गरिसकेको छ ।अवैध सुन खरिद गर्नेले यी कम्पनीको खातामा पैसा हालिदिने र उनीहरूले विदेशबाट आउने रेमिटेन्सबापतको रकम विदेशमै सुन तस्करका एजेन्टलाई दिएर हिसाब मिलाउने गरेका थिए ।

पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार नौसय ३२ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण भेटिएको हो । सिआइबीले पक्राउ परेका चिनियाँसँग ६ केजी सुन र ४८ लाख नगद भेटाएपछि त्यो भने यो तस्करीसँग सम्बन्धित नदेखिएको भन्दै भन्सार कार्यालयमा पठाइएको छ ।

सिआइबीले विशेषज्ञ र प्राविधिकसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २९ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । उनीहरूले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर सुन तस्करी गरेका हुन् ।

चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानका प्रहरीले विश्लेषण गरेको थियो । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले हिसाब निकालेको हो । यसका लागि सुन, चाँदी तथा फलामसम्बन्धी विज्ञहरूलाई समेत साथमा लिएर सिआइबीले अनुसन्धान गरेको हो ।