अनुशासनहीन काम गरेको आरोपमा रास्वपाका महामन्त्री डा. ढकाल निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ ।
पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार देखाएको ठहर गर्दै कारबाहीका लागि निर्णय गरेको थियो ।
“केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भनिन्, “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।”
डा. ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो । उनले बैठकको प्रत्यक्ष प्रसारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाएका थिए ।
बैठकको सुरुआतमा महामन्त्री डा. ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राखेको र सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले बताए ।
आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका थिए ।
उक्त बैठकमा डा ढकालमाथि कारबाहीसम्बन्धी छलफलका लागि केन्द्रीय अनुशासन आयोगका प्रमुख डा भरतमणि देवकोटालाई समेत आमन्त्रित गरिएको थियो । डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया