NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पहिराले बेनी–जोमसोम सडकको आवागमन प्रभावित

म्याग्दी । म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौंसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

“रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्,” बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घण्टा बैसरीको लाममा फसेका उनले भने, “अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ ।”

मुस्ताङको थासाङ गाउँपालिका–४, लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए । “पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ,” उनले भने, “हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।”

रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताए ।

दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर एक जना सवारी चालकको ज्यान गएको थियो ।