प्रधानमन्त्री बन्न ओलीलाई तीन अवरोध

काठमाडौं । कांग्रेस–एमाले गठबन्धनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ । जसअनुसार अबको बाँकी कार्यकाल ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आधा–आधा चलाउने सहमति भएको बताइएको छ तर सहमति सार्वजनिक गरिएको छैन ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिदैछन् । उनले विश्वासको मत पाउने सम्भावना छैन । यो अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ । तर, सहजै ओली प्रधानमन्त्री बन्ने अवस्था भने छैन । एमालेकै नेताहरुले समेत ओली प्रधानमन्त्री बन्नेमा आशंका व्यक्त गरिरहेका छन् । जानकारहरुका अनुसार मुख्य तीन अवरोध ओलीलाई आउन सक्छ ।
१.७३(२) कि ७६(३) ?
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । यसरी आह्वान गर्दा संविधान धारा ७६(२) कि ७६(३) अनुसार भन्नेमा कानुनविद्हरु नै विभाजित छन् । सोही कारण ओली पनि ढुक्क हुन सकेका छैनन् । हुन त नेपाली कांग्रेसले ७६(२) अनुसार नै सरकार बन्ने सार्वजनिक रुपमा बताइसकेको छ । तर, पनि अन्तिमसम्म राष्ट्रपतिले के निर्णय लिन्छन् भन्न सक्ने अवस्था छैन ।
७६(३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढेमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछ । सो दफामा दलहरुले बहुमत पुर्याउन नसकेमा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने प्रावधान छ । अहिले संसदमा कांग्रेस सबैभन्दा ठूलो दल हो । कतै देउवा तत्काल प्रधानमन्त्रीमा लोभिएर त्यता लाग्ने हुन् कि भन्ने चिन्ता ओली र एमाले नेतालाई छ ।
प्रधानमन्त्री प्रचण्डले पनि यही रणीतिअनुसार राजीनामा नदिई विश्वासको मत लिन लागेको बताइन्छ । साथै, प्रचण्डले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सहकार्यको हात अघि बढाएका छन् । अन्य केही साना दलले पनि यही रणनीति खेलिरहेका छन् । कांग्रेसकै केही नेताहरु पनि डेढ वर्षपछिको उधारो प्रधानमन्त्री पदमा सम्झौता गर्नुभन्दा देउवाले प्रधानमन्त्री बन्ने आँट गर्नुपर्ने बताएका छन् । तर, तत्कालै एमालेलाई धोका दिन नहुने कांग्रेसका धेरै नेताहरुको मत भएकाले देउवा द्वीविधामा छन् ।
२.भारत फ्क्याटर
ओली डराउनुको अर्काे कारण छिमेकी देश भारत हो । भारतले ओलीलाई रुचाउँदैन । जसकारण कतै भारतले देउवालाई दबाब दिएर माओवादीसँगै गठबन्धन गर्न लगाउने त होइन भन्ने चिन्ता एमाले नेताहरुको छ । भारतलाई आफ्नो पक्षमा पार्न एमालेदेखि माओवादीका नेताहरुल समेत भित्री रुपमा लबिइङ गरिरहेको स्रोत बताउँछ ।
३.ओलीको कार्यशैली, सम्भावित क्षती
एमालेसँग उधारो सहमति गर्न नहुने कुरा कांग्रेसभित्र उठिरहेको छ । डेढ वर्षपछि ओलीले प्रधानमन्त्री सजिलै छाड्छन् भन्नेमा कांग्रेसका धेरै नेता विश्वस्त छैनन् । किनकी अघिल्लोपटक प्रधानमन्त्रीमा अल्पमतमा परेपछि ओलीले २–२ पटक संसद बिघटन गरेर निरंकुश शैलीमा सत्ता चलाउने प्रयास गरेका थिए । डेढ वर्षसम्म सत्ताको नेतृत्वमा रहँदा साना दललाई फुटाएर तथा फकाएर एमालेमा मिलाउने र ठूलो दल बन्ने ओलीको योजना छ । त्यो अवस्थामा एमाले पार्टी थप बलियो हुने र कांग्रेस कमजोर हुँदे जाने कतिपय कांग्रेस नेताहरुको आशंका छ । त्यहीकारण पनि कांग्रेस नेताहरुले ओलीसँगको सहकार्यलाई पुर्नविचार गर्न दबाब दिइरहेका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया